कोरोनाबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु, अमेरिका र भारतमा संक्रमित बढे

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ४२


काठमाडौं । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान जाने र संक्रमित हुनेको संख्या अझै नियन्त्रणमा आउन सकेको छैन । आज (शुक्रबार) सम्ममा कोरोना भाइरसबाट विश्वका दुई लाख ३३ हजार ८१३ मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ३३ लाख ३० हजार बढी संक्रमित भइसकेका छन् । १० लाख ३९ हजार ५५ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा १० लाख ९४ हजार बढी संक्रमित हुँदा ६३ हजार ८ सय बढीको ज्यान गएको छ ।

स्पेनमा २४ हजार ५ सय ४३ जनाको मृत्यु र २ लाख ३९ हजार बढी संक्रमित छन् । इटालीमा कोरोनाका कारण २७ हजार ९ सय बढीको मृत्यु भएको छ भने दुई लाख ५ हजार बढी संक्रमित छन् । यस्तै बेलायतमा २६ हजार ७ सय बढीको मृत्यु र एक लाख ७१ हजार बढी संक्रमित छन् । फ्रान्समा एक लाख ६७ हजार बढी संक्रमित हुंदा २४ हजार ३ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ । जर्मनीमा कोरोनाका कारण ६ हजार ६ सय बढीको मृत्यु र एक लाख ६३ हजार संक्रमित छन् । इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छैन । त्यहाँ ८२ हजार ८ सय बढी संक्रमित र ४ हजार ६३३ जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा कोरोनाको असर बढ्दै गएको छ । त्यहां एकै दिन १८ सय नयाँ संक्रमित थपिएका छन् । कोरोना कारण भारतमा मृत्यु हुनेको संख्या एक हजार १५४ र संक्रमितको संख्या ३४ हजार ८६२ पुगेको छ । यस्तै पाकिस्तानमा १६ हजार ४ सय बढी कोरोना संक्रमित पुष्टि हुँदा ३६१ जनाको मृत्यु भएको छ ।

युद्धले जर्जर सोमालियामा अब कोरोनाको मारमा
सोमालियामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८२ पुगेको छ । यद्यपि, रेडक्रसले वास्तविक आँकडा योभन्दा बढी हुनसक्ने अनुमान गरेको छ । रेडक्रसले अर्को हप्ता यहाँ ठूलो संख्यामा संक्रमित बढ्ने अनुमान समेत गरेको छ । विशेषज्ञका अनुसार सोमालियाको जर्जर स्वास्थ्य प्रणालीले ठूलोस्तरको संक्रमणलाई सम्हाल्न सक्ने छैन । यहाँको स्वास्थ्य सुविधा तीन दशक चलेको यद्धका कारण धरासायी भइसकेको छ ।

आधुनिक उपकरण त टाढाको कुरा अस्पतालमा आधारभूत सुविधास मेत छैनन् । सोमालियाका १५ प्रतिशत जनसंख्याले मात्रै स्वास्थ्य सुविधा पाउँछन् । यस्तै शहरका ५० प्रतिशत जनसंख्याले मेडिकल सुविधा लिन सक्छन् । 

डाक्टरका अनुसार सोमालियामा मानिसहरुको संक्रमणका कारण मृत्यु भइरहेको छ । यहाँका धेरैजसो मानिसहरु सघन शिविरमा बस्छन्, यस्तोमा उनीहरुका लागि समाजिक दूरीको नियम पालना गर्न असम्भव छ । सोमालीका एक ठूलो जनसंख्यासँग सफा पानी र साबुनसम्मको सुविधा छैन । रिपोर्टका अनुसार हरेक दिन मृतकको बढ्दो आँकडाका कारण मानिसहरुले अन्त्येष्टिका लागि पनि समस्याको सामना गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्