राष्ट्रपति भण्डारीद्वारा श्रमिक दिवसको शुभकामना

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ००


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो।

राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ। 

सोहीअनुरुप सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारहरूका लागि कम्तीमा सय दिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ। कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्‍याउने अपेक्षा रहेको सन्देशमा छ। 

'नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण इतिहासकै कठिन मोडमा उभिएका छौँ, मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएरयस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्नुछ, महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिएको छुु', सन्देशमा भनिएको छ।  


प्रतिक्रिया दिनुहोस्