प्रधानमन्त्री ओलीलाई भेटेर माधव नेपालले के भने यस्तो ?

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १ : २५


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने बताउनुभएको छ। नेपालले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफू तेस्रो अध्यक्ष नबन्ने जानकारी बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले बुधबार पार्टी सचिवालय बैठकमा नेता नेपाललाई विधान संशोधन गरेर तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई संसद्मा ल्याएर कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो।

‘म तपाईंले प्रस्ताव गरेको तेस्रो अध्यक्ष हुन्नँ। त्यसमा मेरो सहमति हुँदैन। मेरो कुरा त तपाईं पार्टी र सरकार सञ्चालनमा असफल हुनुभयो, राम्रोसँग चलाउन सक्नुभएन, तपाईंले पार्टी र सरकार दुवै मोर्चाको नेतृत्व छाड्नुपर्छ भन्ने हो’, नेता नेपालले प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै उहाँनिकट एक स्थायी समिति सदस्यले भन्नुभयो।

अर्का अध्यक्ष प्रण्चडसँग टेलिफोनमा कुराकानी गरेर नेपाल बालुवाटार जानुभएको थियो। प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उहाँले प्रचण्डलाई त्यसबारे जानकारी गराउनुभएको थियो। ओलीले नेपाललाई संवैधानिक निकायहरूमा नियुक्तिका लागि छलफल गर्न भन्दै बोलाउनुभएको थियो।

पार्टीभित्र सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्ममा आफू अल्पमतमा परेपछि ओलीले नेपाललाई फकाउन प्रयास गर्दै आउनुभएको छ। उहाँले महाधिवेशन छिटो गरेर पार्टी अध्यक्षमा नेपाललाई सघाउने, संघीय सरकारका मन्त्रीहरूदेखि आफ्नो निजी सचिवालय हेरफेर गर्ने, संवैधानिक निकायहरूमा सहमतिका आधारमा नियुक्ति गर्ने र प्रदेशका मुख्यमन्त्रीहरूसम्म पनि फेर्ने प्रस्ताव गर्नुभएको छ।

त्यो प्रस्ताव स्वीकार नगरेपछि बुधबारको सचिवालय बैठकमा ओलीले पार्टीमा तेस्रो अध्यक्ष राख्ने र त्यसमा नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो। उक्त बैठकपछि पहिलोपटक भएको भेटमा बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई आफ्नो अडानमा कायमै रहेको र कुनै पदीय भागबन्डामा नलत्रिने जवाफ दिएर माधव नेपाल फर्किएको उहाँ निकट एक स्थायी समिति सदस्यले बताएको यो खबर आजको अन्नपूर्णपोष्टले छापेको छ।


प्रतिक्रिया दिनुहोस्