सन्दर्भ– मई दिवस : मजदूर आन्दोलनको कालजयी गीत, निकाल्यौं हिरामोती

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ५ : ५६


एक मई अर्थात मजदुरहरुको एकप्रकारको महान चाड– मजदुर दिवस । १३१औं मई दिवस सभा, जुलुस, गोष्ठी गरेर मनाउने वातावरण अहिले विश्वमा कहींकतै पनि छैन । यतिबेला कोरोना कहरबाट सृजित विषम परिस्थितिमा विश्व मानव जगत नै प्रताडित छ र सबैभन्दा बढी प्रताडित भएका छन् तिनै मजदुर वर्ग । जसले ठूलाठूला महल बनाए, गाडी बनाए तर त्यसको उपयोग अर्कैले गरे । उनीहरु ती चिजको उपयोग गर्नबाट बञ्चित रहे ।

गासबासको जोहो गर्न गाउँघर छोडेर कोसौ टाढा पुगेका उनीहरु कोरोना कहरले रोजीरोटी खोसेपछि फेरि त्यही गाउँघर फर्कन बाध्य भए– भोको पेट र नाङ्गा खुट्टा लिएर । लकडाउनका कारण रोजगारी बन्द भएपछि अहिले ती मजदूरहरुको साँझ बिहानको गास नै रोकिएको छ । उनीहरुको गासबासको ब्यवस्था न त मालिकले मिलाइ दियो न त देशको अभिभावक भनाउँदो सरकारले नै । त्यसैले भोकभोकै हप्तौं हिडेर आफ्नो गाउँघर फर्कन बाध्य भए उनीहरु । लश्करका लश्कर मजदूरहरुको ताँती बाटोमा हिडेको छ । मजदूरहरुको यस्तै यथार्थ व्यथा  समेटिएको रक्तिम परिवारको कालजयी गीत छ एउटा जसको रचना जनगायक जीवन शर्माले गरेका हुन् :
निकाल्यौ हिरामोती बनायौ सुनका दरबार
न हाम्लाई एक छाक रोटी
नपायौं ओत लाग्ने घर

बगैचामा फूलहरु हामीले फुलायौं
फाँटैभरि धानका बाला हामीले झुलायौं
काठमाडौं र दिल्ली हाँस्छन् हाम्रै रगतमाथि
संसारलाई सिंगार्ने हौं हामी निर्धन जाति

गीतले मजदूरहरुको यथार्थ ब्यथा समेटेको छ । गीतका प्रत्येक शब्दहरु मजदूरको  जीवनबाट टपक्क टिपेर ल्याइएको छ । आजभन्दा ३४ बर्ष अगाडि लेखिएको उक्त गीत अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ । अझ कोरोना कहरबाट अहिले सृजित विषम परिस्थितिमा मजदूरहरुको जुन दर्दनाक अवस्था देखिएको छ, यो परिवेशमा त यो गीत झनै सान्दर्भिक बन्न पुगेको छ । बगैचामा फूलहरु फुलाउने मजदूर, खेतमा लहलह धानका बाला झुलाउने मजदूरहरु, आफू पसिना र रगतको पोखरीमा डुबेर राजधानीका आलिशान महलहरुमा मालिक र सत्ता सञ्चालकहरुलाई खुशी दिइरहेका तिनै मजदूरहरुको अवस्था भने आज साँच्चै नै दर्दनाक भएको छ । नेपालको परिवेशमा मात्र होइन विश्वभरि छरिएर रहेका मजदूरहरुको यथार्थ बेदना बोलेको छ यो गीतले–
न्युयोर्क र पेरिस शहर हामीले उठायौं
चन्द्रमा र पृथ्वीलाई हामीले जुटायौं
लुगाफाटो रास लाग्छ पसिनाले हाम्रो
तर हाम्लाई खानु लाउनु छैन कहिल्यै राम्रो

हो । आज विश्वभरिका शहरहरुमा जुन गगनचुम्बी महलहरु देखिन्छन् ती सबै मजदूरहरुले नै बनाएका हुन् । चन्द्रमा र पृथ्वीलाई  जोड्ने यानहरु बनाउने पनि मजदूरहरु नै हुन् । आफ्नो अथाह पसिना बगाएर उनीहरुले ती चीजहरु बनाए तर पनि उनीहरुले आफ्नो पसिनाको उचित मूल्य पाउन सकेका छैनन् । उनीहरुको  पसिनामाथि मुठ्ठीभर मानिसहरुको रजाइँ चलिरहेको छ– संसारभरि नै । त्यसरी  पसिना बगाउने मजदूरहरुलाई खान लाउनको सधै समस्या पर्दै आइरहेको छ ।  गीतले त्यही यथार्थ भाव बोलेको छ । गीतको रचनाकाल सम्झिदै जनगायक जीवन शर्मा भन्नुहुन्छ, ‘यो त्यस्तै २०४३/४४ सालतिरको कुरा हो । हामी रक्तिमको टोली लिएर भारतका विभिन्न शहरहरुमा रोजगाररत नेपाली मजदूरहरुको बीचमा पुगेका थियौं । त्यहाँ मजदूरहरुको अवस्था देखेपछि हामीले यो गीत बनाएका थियौं ।’ गीतले मजदूरहरुका समस्याको उजागर गर्ने मात्र होइन समस्या समाधानको स्पष्ट मार्गचित्र पनि देखाएको छ ः
शहरका मजदूरहरु उठ अब उठ
गाउँघरका किसानहरु संघर्षमा जुट
पाइँदैन हक त्यसै खोसी लिनुपर्छ
गरिब किसान मजदुर मिमी अब हिड्नु पर्छ
काम गर्ने कामदार हो जुटेर एक बन लौ
गरिबका बैरीहरुलाई उठेर अब हान लौ

यसरी गीतले स्पस्ट भनेको छ, मजदूर र किसानहरु मिलेर संघर्षको मार्गमा अघि बढेपछि मात्र मजदूरहरुका हक र अधिकारहरु प्राप्त हुन सक्नेछन् । गरिब किसान र मजदूरहरुलाई मुक्ति अरु कसैले दिने होइन । आफ्नो मुक्तिका लागि सचेत र संगठित भई उनीहरु आफै उठ्नु पर्छ । मजदूरमारा नीतिनियम र कानुन बनाउनेहरुका विरुद्धमा जाइलाग्नु पर्छ । सचेतरुपमा संगठित भएर संघर्षको मैदानमा लामबद्ध हुने हो भने मजदूरहरुले आफ्ना हक र अधिकारहरु अवश्य पनि प्राप्त गर्न सक्नेछन् । मजदूरहरु एकताबद्ध भएर संघर्षको मार्गमा अघि बढे भने शक्तिशाली भनिएका मालिक र सरकारहरु उनीहरुको अगाडि झुक्न बाध्य हुनेछन् । मजदूरहरुले मिलेर त्यसरी संघर्ष गर्दा धेरै देशका शासकहरु झुकेका पनि छन् ।

मई दिवसको सन्दर्भ

कामदार मजदूर वर्गले शक्तिशाली ठानिएका मालिक र सत्तालाई झुकाएको ऐतिहासिक दिन हो मे एक । संसारभरिका मजदूरहरुले आज जेजति पनि हक र अधिकारहरु प्राप्त गरेका छन् ती सबै संघर्षकै परिणाम हुन् ।  पहिले पहिले मजदूरहरुलाई काम लगाउने समयको कुनै पावन्दी थिएन । दासलाई जस्तै चौबीसै घण्टा मजदूरहरुलाई काममा कज्याउथे मालिकहरुले । त्यो दासताका विरुद्धमा सन १८८६ को मे १ का दिन अमेरिकाको सिकागो भन्ने शहरको ‘हे मार्केट’ भन्ने स्थानमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको ब्यवस्था गरिनुपर्ने माग राख्दै तीन लाख मजदूर सडकमा उत्रिएर  विरोध प्रदर्शन गरे । त्यस दिन मात्र होइन मजदूरहरुले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै गए ।

४ मे का दिन अमेरिकाको सिकागो शहरको ‘हे मार्केट’मा लाखौंको संख्यामा विरोध प्रदर्शन गरिरहेका ती मजदूरहरुको जुलुशमा कसैले बम फ्याँकिदियो । त्यही निहुँमा पुलिसले त्यहाँ अन्धाधुन्द गोली चलाउदा ८ जना आन्दोलनकारीको मृत्यु हुन पुग्यो । त्यो आन्दोलनको नेतृत्व गरिरहेका चार नेतालाई पक्रिएर तत्कालीन अमेरिकी  सत्ताले फाँसी दियो । त्यो आन्दोलनका क्रममा संघर्षको नेतृत्व गरिरहेका स्यामुअल फिल्डेन, अल्बर्ट पार्सन, लुइस लिङ, अगस्त इस्पाइस, माइकल स्क्वाव, एडल्फ फिसर र जर्ज ऐङ्गेल लगायतका मजदूर नेताहरुले शहादत प्राप्त गरे । तर दमन र फाँसीले त्यो आन्दोलन रोकिएन, बरु झन झन अन्यत्र पनि फैलदै गयो । फ्रेडरिक एङ्गेल्सको विशेष पहलकदमीमा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय’को प्रथम महाधिवेशनले  अमेरिकाको सिकागो शहरको ‘हे मार्केट’मा मजदूरमागि गरिएको उक्त बर्बर दमनको विरोधमा मे एकका दिन विश्वव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्यो । निर्णय मुताबिक सन् १८९० को मे १ का दिन विश्वका विभिन्न देशहरुमा मजदूरहरुले विशाल प्रदर्शन गरे । आखिर मजदूरहरुको त्यो आन्दोलनसामु अमेरिका लगायतका तत्कालीन साम्राज्यवादी विभिन्न देशका सत्ताहरु झुक्न बाध्य भए । मजदूरहरुलाई आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको ब्यवस्था गर्न उनीहरु सहमत भए । यसरी खाली हात  सडकमा उत्रिएका मजदूरहरुले शक्तिशाली ठानिएका साम्राज्यवादी सत्तालाई झुकाएको गौरवपूर्ण दिन हो, मे एक । पछि सन १८९१ को मे १ का दिन  जर्मनको ब्रसेल्समा सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय’को दोस्रो महाधिवेशनले मे १ लाई विश्वभरि नै ‘मजदूर दिवस’ का रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता विश्वका प्रायः देशहरुमा रहेका मजदूरहरुले प्रत्येक बर्षको मे १ का  दिन मजदूर दिवस मनाउँदै आएका छन् ।

मे १ मजदूरहरुको संघर्षको महान गाथा बोकेको एक ऐतिहासिक दिन हो । मे  १ ले स्थापित गरेका मान्यताहरु अझै पनि हाम्रो देशमा लागू हुनसकेका छैनन् ।  नेपाली मजदूरहरुको अवस्था अहिले पनि दयनीय रहेको छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मे दिवसले स्थापित गरेको     मान्यता नेपालमा ब्यवहारिकरुपमा अझै पनि लागू भएको देख्न सकिँदैन । यहाँ  अझै पनि मजदूरमारा नियमकानुनहरु जीवितै छन् । गरिब, किसान र मजदुरवर्ग मिलेर सम्पूर्ण राज्यसत्तालाई आफ्नो हातमा नलिँदासम्म उनीहरुको जीवनमा आमूल परिवर्तन आउन सक्ने छैन । त्यसैले मे १ को संघर्षको क्रान्तिकारी  लयलाई आत्मसात गर्दै अघि बढेमा नै मजदुरवर्ग त्यो राज्यसत्ताको समीपमा पुग्न सक्ने छ ।

जनगायक  जीवन शर्माको ‘निकाल्यौ हिरामोती’ बोलको गीतले पनि त्यही भाव बोकेको छ । त्यसो त मजदूर आन्दोलनसम्बन्धी रक्तिमकै र अन्य स्रष्टाहरुले रचना गरेका पनि अरु धेरै गीतहरु नभएका होइनन् तर जनमनमा रक्तिमको यही गीतले नै बढी प्रभाव पारेको देखिन्छ । सरल शब्द, सुमधुर सङ्गीत र मजदूरहरुको मर्मस्पर्शी  थथार्थ ब्यथा समेटिएका कारण यो गीत बढी चर्चित भएको छ । रक्तिम परिवारको जनगीति यात्रा भाग २ मा समेटिएको यो गीत म्युजिक नेपालमा  २०४७ सालमा रिकर्ड भएको थियो । त्यो एल्बममा यो गीत जनगायक जीवन शर्मा र झोकेन्द्र थापा लगायतका कलाकारहरुको स्वरमा सजिएको छ । यसको  भिजुअलमा नेत्र राना लगायतका रक्तिम कलाकारहरुको अभिनय रहेको छ । ३४ बर्ष पहिले रचना गरेको त्यही मर्मस्पर्शी मजदूरहरुको व्यथा बोकेको गीतलाई कोरोना कहरले सिर्जना गरेको लकडाउनको यो बेलामा जनगायक जीवन शर्माले प्रत्यक्षरुपमा फेरि गाएका छन् । उनलाई स्वरमा जनगायिका निलिमा पुनले दिएकी छिन् । शर्माको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । 

यो गीतलाई जनगायक शर्माले ‘आउँदै गरेको मे दिवसलाई आफ्नो तर्फबाट उपहार’ बताएका छन् । लकडाउनका कारण भव्य समारोह वा जुलुस गरेर मे दिवस मनाउने परिस्थिति अहिले छैन । त्यसैले जो जहाँ छौं त्यही बसेर मे एकको त्यो गौरवपूर्ण संघर्षलाई सम्झदै, त्यसको मूल मर्मलाई आत्मसात गर्ने प्रण गर्दै १३१ औ  मे दिवस मनाऔ । अनि सुनौं र हेरौ मे दिवसलाई जनगायक जीवन  शर्माले दिएको ‘उपहार’ मजदूर आन्दोलनको यो कालजयी गीत, निकाल्यौं  हिरामोती ।


प्रतिक्रिया दिनुहोस्