शिवु खनाल
दाङ । रामायणका राम र सीता वनबास गएको बेला बास बसेको र स्नान गरेको विश्वास गरिएको सीता भरार ओझेलमा पर्दै गएको छ।
रामायणको कथा अनुसार चौध वर्ष वनबासको क्रममा निस्किएको बेला राम र सीताले दाङको लमही नगरपालिका वडा नम्बर ६ अर्जुनखोलाको छेवैमा रहेको कुण्टामा बास बस्नुका साथै स्नान गरेको किंवदन्ती रहेको छ। तर, उक्त सीता भरार प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गएको छ।
राम सीता वनबास र स्नान गरेको सीता भरारको संरक्षण र प्रवद्र्धनमा कोही कसैको अहिलेसम्म ध्यान पुग्न नसक्दा यो वर्षको पर्यटन वर्षले पनि छुन सकेन। उसो विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना महामारीले पर्यटन वर्ष पनि बीचमै रोक्नुपरेको छ।
दाङको लमही नगरपालिका वडा नम्बर ६ स्थित विश्व बैंक भन्ने ठाउँ रहेको छ। जुन नाम अहिले सम्म गुमना रहेको छ। लमही घोराही सडकखण्ड कुलमोहरदेखि उत्तरतर्फ रहेको पहाडको भागलाई विश्व बैंक भनिन्छ। विश्व बैङ्कदेखि सय मिटर अगाडि दक्षिणतर्फ अर्जुनखोलाको छेवैमा पहाडको पाखामा एउटा कुण्ड रहेको छ। यसको संरक्षणको कसैको ध्यान नगएको स्थानीयबासीको गुनासो छ।
राम र सीता चौध वर्ष वनबासमा निस्किएको बेला सोही कुण्टामा वनबास गरेको जनविश्वासका साथै किम्वदन्ती रहेको स्थानीय आशा चौधरीले बताउनुभयो। ‘राम र सीता चौध वर्ष वनबासको क्रममा निस्किएको बेला यो ठाउँमा बास र स्नान गरेको हुनाले यो ठाउँको नाम सीता भरार रहन गयो’, चौधरीले भन्नुभयो, ‘यति महत्वपूर्ण पर्यटकीय स्थल हाम्रै दाङ देउखुरीमा रहेको धेरैलाई थाहा छैन, यसको प्रचार प्रसारको अभावले यो ओझेलमा परेको छ।’
आशा चौधरीकी आमा सीता भरारमा गएर पूजापाठ गरेको बताउनु हुन्छ। ‘मेरो छोरा जन्मिएको थिएन, मैले सीता भरारको कुण्टामा गएर स्नान गरी छोराको कामना गरेकी थिएँ, त्यो कामना अहिले पूरा भएको छ, रामबहादुरी चौधरीले भन्नुभयो, ‘सीता भरारको कामनाबाट जन्मिएको छोराको नाम पनि सिताराम नै राखिदिएको छु।’
स्थानीय गाउँलेहरुका अनुसार सीता भरारमा गई स्नान गरे मागेको इच्छा पूरा हुने विश्वास गरिन्छ। सीता भरारमा माघेसंक्रान्ति अर्थात् माघ १ गते पूजापाठ र तिहारमा भैलो खेलेर वनभोजको लागि मानिसहरु आउने गरेको रामबहादुरी चौधरीले बताउनुभयो। सीता भरारमा राम र सीताले स्नान गर्ने बेलामा लगाएका गहना, चप्पल राखेको निशानी र सीताको खुट्टाको पाइलाको समेत रहेको किंवदन्ती रहेको स्थानीय आशा चौधरीले बताउनुभयो।
राम र सीता वनबास निस्किएको बेला त्यो बाटो हुँदै पैदल हिड्दा ढुङ्गामा डोब (पाइला) थियो सीता भरारमा, अनुसन्धानकर्ता उदय आलेले भन्नुभयो, ‘सन् २०११ मा पहिलो पटक पर्यटन वर्ष मनाउँदा सीता भरारमा जाँदा मैले पनि ढुङ्गामा डोब (पाइला) देखेको थिएँ। दोस्रो पटक जाँदा उक्त ढुङ्गामा रहेको डोब (पाइला) थिएन।’
स्थानीयबासीका अनुसार भारतीयहरुले लगे भन्ने कुरा चलेको अनुसन्धानकर्ता आलेले बताउनुभयो।
नेपालमै ऐतिहासिक इतिहास बोकेको स्थान हो राम र सीता वनबास गरेको सीता भरार। ऐतिहासिक प्रसंगसँग जोडिएको यो सीता भरारको विकास गर्न जरुरी रहेको अजम्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पुरातात्विक स्रोतहरुको संरक्षणमा हाम्रो ध्यान जान आवश्यक छ।’