महोत्तरीमा ३ दिनमा एकै गाउँका ६ जनाको रहस्यमय मृत्यु

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १२ : १२


मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृत्यु भएको छ।

मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताउनुभयो ।

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गर्नुभयो ।

यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताउनुभयो । रहस्यमय तरिकाले छ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।  

प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन।

सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्