तरकारीको अभाव कसैलाई छैन : भारतीय कृषि मन्त्री टोमर

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ४६


नयाँ दिल्ली । भारतका केन्द्रिय कृषि तथा कृषक कल्याण मन्त्री नरेन्द्र सिंह टोमरले देशभरी कसैलाई पनि तरकारीको अभाव नभएको दाबी गर्नु भएको छ।

लकडाउनका कारण आवतजावत र ढुवानीमा समेत समस्या भएकाले कतिपय बस्तुको अभाव भएपनि तरकारीको भने अभाव नभएको उहाँको भनाई छ।  

बुधबार नयाँदिल्लीमा एक पत्रकार सम्मेलनमा बोल्दै उहाँले कृषि पदार्थ एउटा अति महत्वपूर्ण चिज भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिनुभयो।
  
कृषिजन्य काम तथा सेवाका लागि कुनै पनि अवरोध नभएको र जुनसुकै बेला पनि गर्न सकिने व्यवस्था गरिएको उहाँले बताउनु भयो।

“संकटको समयमा कृषि अर्थतन्त्र धेरै महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। 

कृषि मन्त्री टोमरले यस्तो अवस्थामा पनि कुनै पनि व्यक्तिलाई कृषिजन्य सेवा तथा बस्तुको अभाव नहुनु निकै ठूलो कुरा भएको बताउनु भयो।
 
उहाँले संकटसँग जुध्नका लागि कृषि विभाग मार्फत् १७ हजार ९८६ करोड भारतीय रुपैया कृषकहरुलाई वितरण गरिएको पनि जानकारी दिनुभयो।
 
प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रममार्फत् उनीहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको उहाँले बताउनु भयो।

यसबाट लाखौँ किसान लाभान्वित भएको पनि कृषि मन्त्री टोमरको भनाई छ।


प्रतिक्रिया दिनुहोस्