सकियो नेकपा सचिवालय बैठक, यस्ता छन् बैठकका निर्णय

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ३ : २६


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी बैशाख २० गते बस्ने गरी स्थगित गरिएको छ।

आज बेलुकी साढे ५ बजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठक २० गते बस्ने गरी स्थगित गरिएको सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो। 

बैठकमा पार्टीको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र स्थायी कमिटीको बैठक एवं त्यससँग जोडिएका विषयहरुमा गम्भीर छलफल भएको बताउँदै प्रवक्ता श्रेष्ठले छलफल नटुंगिएकाले आगामी २० गते पुनः सचिवालयको बैठक बस्ने बताउनुभयो । 

'बैठकमा पार्टीको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको पार्टी स्थायी कमिटीको बैठक र त्यो सँग जोडिएका विविध पक्षहरुमा गम्भीर विचार विमर्श भयो', प्रवक्ता श्रेष्ठले भन्नुभयो, 'छलफल जारी छ। पार्टी नेतृत्वको टीमले अनौपचारिक गृहकार्यको प्रक्रिया अघि बढाउँदै २० गते सचिवालयको बैठक बस्ने निर्णय गरेको छ।'

अब बस्ने सचिवालय बैठकको पार्टीलाई एकताबद्ध बनाउने र जनादेश अनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने बारेमा आवश्यक निर्णय गर्ने र स्थायी कमिटीको बैठकबारे पनि सोही बैठकले नै टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्