नेकपा सचिवालयको बैठक शुरु, के होला नेकपाको भविष्य?

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : २१


काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद छताछुल्ल भइरहेका बेला पार्टीको माथिल्लो निकाय सचिवालयको बैठक बालुवाटारमा शुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई वटा अध्यादेश ल्याएसँगै छताछुल्ल भएको पार्टीभित्रको विवाद समाधानका लागि सचिवालय बस्न लागेको हो।

बुधबार साँझ साढे ५ देखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले पार्टीभित्रको विवाद समाधान गर्ने अपेक्षा गरिएको छ।

पार्टीको सचिवालय बैठक बस्नुअघि वालुवाटारमै प्रधानमन्त्री ओलीले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला गरी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएको कतिपय सांसदहरुले बताउँदै आएका छन्। ओली निकट सांसदहरुले संसदीय दलमा बहुमत पुर्याउन हस्ताक्षर समेत संकलन गरिसकेको बताइएको छ।

पार्टीसँग छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु प्रधानमन्त्रीसँग असन्तुष्ट भएका थिए। लगत्तै सचिवालय सदस्य उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बैठक बसी अध्यादेश फिर्ता लिन र स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

उसो त पार्टीकै २० जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गरी बैठकको माग समेत गरेका थिए। 

पार्टीभित्र र बाहिर चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिए पनि नेकपाभित्रको शक्ति संघर्ष भने उत्कर्षमा पुगेको छ। 

आजको सचिवालय बैठकको एउटा मुख्य एजेण्डा स्थायी समिति बैठकको मिति तय गर्ने रहेको छ। त्यसमा प्रधानमन्त्री ओली सहमत छैनन्। स्थायी कमिटी बैठक बोलाउनुको साटो उनी संसदीय दलमा आफ्नो स्पष्ट बहुमत देखाएर अरु नेताहरुलाई जवाफ दिने तयारीमा छन्। 

प्रचण्ड–नेपाल समूहले स्थायी समिति बैठक राखेर सबै समस्यामाथि छलफल गर्न आग्रह गर्दै आएको छ। प्रधानमन्त्री ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट आफुलाई हटाउन खोजिएको भन्दै आफूलाई हटाउन खोजे जे पनि हुनसक्ने भन्दै धम्की दिइरहेका छन्। 

उता अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालयहरु सरकार पार्टीको विधि पद्धतिअनुसार चल्नुपर्ने भन्दै सरकारका पछिल्ला गतिविधिहरुको पार्टी कमिटीमा छलफल हुनुपर्ने माग गरिरहेका छन्। उनीहरुले तत्काल स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीको बैठक बसाल्न र बैठकले दिने म्याण्डेट मानेर जान प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्