काठमाडौं । बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पोजेटिभ देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।
सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।
बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्।
अहिलेसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ। आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन्।
प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण भएका छन।
अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन। काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत रहेका छन्।