सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीनिकट सांसद र केन्द्रीय सदस्यहरुले बनाए यस्तो रणनीति

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १० : ५६


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद छताछुल्ल भएको अवस्थामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुको बैठक बालुवाटारमा भएको छ । सचिवालय बैठकअघि रणनीति बनाउने उद्देश्यले भेला आयोजना गरिएको बताइएको छ ।

सहभागी सांसद तथा नेताहरुले बेलुकी बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आफ्ना सुझाव राखेको बताइएको छ । संसदीय दलमा बहुमत पुराउने उद्देश्यले हस्ताक्षर संकलन भइरहेको संसदीय दलमा बहुमत सदस्य (आवश्यक संख्या)ले हस्ताक्षर गरिसकेको बालुवाटार स्रोतले बतायो । आवश्यक सांसदहरुले ओली नै ५ वर्षका लागि अविच्छिन्न प्रधानमन्त्री भएको र त्यसबाट यताउता गर्न नहुने सुझाव दिएको बताइएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अहिलेको निकास प्रधानमन्त्री ओलीले दिनुपर्ने भनेपछि उहाँ दवावमा रहनुभएको छ । ओलीले दुई दिनदेखि संसदीय दलमा बहुमत पुराउने योजनासहित छलफल अगाडि बढाएको बताइएको छ ।

वरिष्ठ नेता नेपालले तत्काल एक व्यक्ति एक पद कार्यान्वयन गर्न ओलीलाई पटकपटक सुझाव दिनुभएको छ । समस्या समाधानका लागि प्रचण्ड–नेपाल समूहले नेकपाको स्थायी कमिटी र आवश्यक परेमा केन्द्रीय समिति बैठक बोलाउनु पर्नेमा जोड दिएको छ ।

आफू अल्पमतमा रहेको देखिएकाले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउन नहुने ओलीको निष्कर्ष रहेको बताइन्छ । आजको सचिवालय बैठकमा स्थायी कमिटी बैठकका विषयमा केन्द्रित रहेर छलफल हुनेछ । नेकपा सचिवालय बैठक पनि बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
 


प्रतिक्रिया दिनुहोस्