लकडाउनकै बीचमा किन पुगे प्रधानमन्त्री संसद भवन बानेश्वर ?

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतलाई लिएर संसद भवन पुग्नुभएको छ।

संघीय संसदको बजेट अधिवेशन शुरु गर्नुपर्ने समय घर्किन लागिसकेको हुँदा प्रधानमन्त्री, सभामुख लगायतको टोलीले बुधबार संसद भवनको सभा हल निरीक्षण गरेको हो।

बिहान सभामुख अग्निप्रसाद सापकोटासँगको भेटघाटपछि प्रधानमन्त्री र सभामुख सँगसँगै संसद भवन बानेश्वर आउनुभएको थियो।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्दै कसरी संसद बैठक सञ्चालन गर्न सकिन्छ भनेर प्रधानमन्त्री आफैले बैठक सभा हलको अवलोकन गर्नुभएको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले बताउनुभयो।

'माननीयज्यूहरुको बसाईको निश्चित दूरी कायम गरी बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ', कार्यवाहक महासचिव योगीले भन्नुभयो, 'सभा हलमा कुर्सीहरु एकअर्कासँग जोडिएको हुँदा हटाउन मिल्दैन तर बीच बीचका कुर्सीहरु खाली राखेर माननीयज्यूहरुको निश्चित दूरी कायम गर्न सकिन्छ। त्यहीँ अनुसार बस्ने व्यवस्था मिलाउँछौं।'

विगतमा ६०१ जना संविधान सभा सदस्यहरु हुँदासमेत बस्ने कुर्सीहरु पुगेको भन्दै कार्यवाहक महासचिव योगीले अहिले दुवै सदनका सांसदहरु रहँदा पनि ३३४ जना मात्रै हुने भएकाले दूरी कायम गरेर बस्दा पनि ठाउँ प्रशस्त हुने बताउनुभयो।

संसद भवनको अवलोकनमा प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संविधानसभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, कानूनमन्त्री शिवमाया तुम्बाहाङफेलगायत वानेश्वर पुग्नुभएको थियो।

२०७२ को संविधानले जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेको र बजेट आउनुभन्दा १५ दिन अघि नै प्रि बजेटमा छलफल गर्नुपर्ने नियम भएकाले बजेट अधिवेशन चाँडै शुरु गर्नैैपर्ने कानूनी बाध्यता रहेको छ।


प्रतिक्रिया दिनुहोस्