चर्चित बलिउड अभिनेता खानको निधन

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ३६


मुम्बई । अन्तराष्ट्रिय ख्याति प्राप्त बलिउड अभिनेता इरफान खानको ५३ बर्षको उमेरनमा निधन भएको छ।

खानको बुधबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका खानको बुधबार निधन भएको हो।

इरफानले अभिनय गरेको फिल्म 'पिकु'का निर्माता सुजीत सरकारले ट्वीटमार्फत उनको मृत्यु भएको जानकारी दिएका छन्।

खान दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए।

जयपुरको राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमा क्षेत्रमा आएका थिए। 

उनको अन्तिम सिनेमा ‘अंग्रेजी मिडियम'सात महिनाअघि रिलिज भएको थियो।

गत शनिबार उनकी आमाको निधन भएको थियो।  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका छन्।

यस्तै उनले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय सिनेमामा पनि काम गरेका छन्।

अनिनेता खानको निधनमा बलिउडका दिग्गज कलाकारदेखि राजनीतिकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्