कोरोना भाइरस: यसकारण कतिपय मानिस हात धुँदैनन्

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ०२


हामीमाझ लाखौँ मानिस छन् जो हात धुँदैनन्। कोभिड-१९ विरुद्ध लड्न सफा रहने यो सामान्य बानी पनि उनीहरूले किन बसाल्दैनन् र उनीहरूको धारणा कसरी परिवर्तन गर्न सकिएला?

"सन् २०१९ को मेरो सङ्कल्प – अप्रत्यक्ष रूपमा म जे भन्छु, प्रत्यक्ष रूपमा पनि त्यही भन्नेछु…" एउटा गोप्य कुरा सार्वजनिक गरेपछि इन्टरनेटमा त्यसले व्यापक चर्चा पाउनुअघि गत वर्ष पिट हेगसेथले यसो भनेका थिए।

त्यो बेला फक्स न्यूजका चिरपरिचित समाचारप्रस्तोता रहेका हेगसेथका विभिन्न विवादास्पद धारणाहरू थिए। त्यसपछि उनले भने, "दश वर्षयता मैले हात धोए जस्तो मलाई लाग्दैन।"

सन् २०१५ मा हलिवूड अभिनेत्री जेनिफर लरेन्सले शौचालयबाट निस्केपछि आफूले हात धुने नगरेको बताएपछि ठूलो चर्चा भएको थियो। हेगसेथ र लरेन्स दुवैले पछि आफूहरूले ठट्टा गरेको बताए। तर केही मानिसले हात धुने कुराविरुद्ध खुला रूपमै आफ्नो धारणा राखेका छन्।

सामान्य व्यवहार, प्रायः बेवास्ता
लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनस्थित जनस्वास्थ्यविज्ञ रोबर्ट अङ्गर भन्छन्, "यो सामान्य बेहोराजस्तै सुनिन्छ। तर हामी २५ वर्षदेखि यसबारे गरिरहेका छौँ र अझै एकदम कम छ।"

निश्चित रूपमा अतिविपन्न देशमा पर्याप्त सुविधा र साबुनको अभावबारे कुरा उठ्न सक्छ। कम विकसित देशहरूमा २७ प्रतिशत जनताको मात्रै यी सुविधामा पहुँच छ।

विश्व स्वास्थ्य सङ्गठन र यूनिसेफको अनुमानअनुसार विश्वभरि झन्डै तीन अर्ब मानिसहरूको यी सुविधासम्म घरमा पनि पहुँच छैन। तर उच्च आय भएका कतिपय देशमा शौचालय गएर आएपछि ५० प्रतिशतले मात्रै हात धुने गरेको पाइन्छ।

जीवन बचाउने हस्तक्षेप
मानव इतिहासमा यो जीवन बचाउनेमध्येको एउटा कुरा तपाईँले ठान्नुभयो भने यी तथ्याङ्कहरू आश्चर्यलाग्दा छन्। सन् १८५० तिर हात धुने बानी लोकप्रिय भएयता विश्वव्यापी औसत आयु बढ्नुको यसको ठूलो योगदान रहेको छ।

सन् २००६ को एउटा समीक्षाले नियमित रूपमा हात धुँदा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण हुने जोखिम ६ देखि ४४ प्रतिशतले कम हुन सक्ने देखाएको थियो। कोभिड-१९ को विश्वव्यापी महामारीयता वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने हात धुने चलन रहेका देशमा कोरोनाभाइरस सङ्क्रमणको दर बुझ्न सजिलो भएको छ।

"खासगरी विकसित देशहरूमा हात धुने कुरामा समस्या देख्नुको एउटा कारण के हो भने तपाईँ पटक पटक त्यसलाई बेवास्ता गर्न सक्नुहुन्छ र तपाईँ बिरामी हुनुहुने छैन," अङ्गर भन्छन्।

आशावादी हुनबाट सावधान
अर्को कुरा आशावादी हुनुको प्रभाव हो। आशावादप्रति पूर्वाग्रही हुनु भनेको नराम्रा कुरा हामीलाई भन्दा अरूलाई हुन्छ भन्ने विश्वास गर्नु हो।

यस्तो विश्वासले हामीमा क्यान्सर हुन सक्नेदेखि सम्बन्धविच्छेद हुन सक्नेसहितका सम्भावनाबारे गलत आकलन गराउँछ। यस्तो गलत विश्वासले पनि कतिपय मानिसहरूलाई हात धुनबाट रोक्न सक्छ।


प्रतिक्रिया दिनुहोस्