भारत । कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको विकास गरिरहेको भारत पुणेको सिरम इन्ष्टिच्युटका सीइओ अडर पूनावालाले ट्रायल सफल भएमा यही सेप्टेम्बर वा अक्टोबरसम्ममा भ्याक्सिन आउने हुने बताएको छ।
भारतीय अखबार बिजनेश टुडेलाई दिएको एक अन्तरवार्तामा सीइओ पूनावालाले भने ‘हामीले जोखिम उठाउँदै भ्याक्सिनको एडभान्स ट्रायलभन्दा अगाडि नै उत्पादन सुरु गर्दैछौँ। हामीले यो भ्याक्सिन बजारमा १ हजार भारतीय रुपैयाँसम्ममा उपलब्ध गराउने छौँ।'
सिरम इन्ष्टिच्युटले ३ वटा भ्याक्सिन परीक्षण र उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ। यी मध्ये एक भ्याक्सिन जसलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र जुन भ्याक्सिन सबैभन्दा चाँडो आउने अपेक्षा गरिएको छ। यसबाहेक सिरम इन्ष्टिच्युटले अमेरिकाको कोडाजेनिक्स कम्पनीको भ्याक्सिन र आफ्नै उत्पादन बीसीजीको ‘रिकम्बिनेन्ट’ भ्याक्सिन विकास गर्दैछ।
सिरम इन्ष्टिच्युट विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो जसले वर्षमा १ अर्ब ५० करोड डोजभन्दा धेरै भ्याक्सिन उत्पादन गर्छ । जसले विश्वका ६५ प्रतिशत बालबालिकाहरुलाई ‘इम्युनाइज’ गर्छ। अडर पूनावालाका पिता साइरस पूनावालाले यो कम्पनी १९६६ मा स्थापना गरेका हुन्।
पूनावालाका अनुसार मे महिनाको अन्तिमदेखि भ्याक्सिनको उत्पादन सुरु हुन सक्छ र परीक्षण सफल भएमा सेप्टेम्बर-अक्टोबरदेखि यसलाई बजारमा उपलब्ध गराइनेछ।