लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ३३


काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले रिहा गरेको हो ।

आफूलाई सामाजिक अभियन्ताका रुपमा अगाडि बढाइरहेका शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा मंगलबार सुनुवाई गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

शाहीलाई लकडाउन उल्लंघन गरेको आरोपमा बैशाख ९ गते ललितपुर प्रहरीले पक्राउ गरेको थियो । शाहीलाई गैरकानुनीरुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्