पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा, छोरा तेजस्वीद्वारा ध्यानाकर्षण

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ०१


राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेख्नुभएको छ, “पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड-१९ को सङ्क्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ । यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ। बहत्तर बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहनुभएको छ र उहाँलाई कोरोनाभाइरस सङ्क्रमणको अत्यधिक खतरा छ । त्यसैले उहाँको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ ।” 

पूर्व मुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गर्नुभएको हो ।

“रिम्सको चिकित्सा विभागमा विगत तीन हप्तादेखि उपचाररत एक विरामीमा मङ्गलबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। ती विरामीको उपचारमा चिकित्सक उमेशप्रसाद सम्लग्न रहेको र उहाँले पूर्व मुख्यमन्त्री यादवलाई पनि हेरिरहनुभएको छ।” तर रिम्स अस्पताल प्रशासनले भने लालुलाई ‘पेइङ वार्ड’मा भर्ना गरिएको बताएको छ।

अस्पतालले थप जानकारी गराएको छ, “कोभिड-१९ सङ्क्रमित विरामी सामान्य चिकित्सा कक्षमा विगत तीन हप्तादेखि उपचाररत थिए। सबै चिकित्सक, नर्स तथा अन्य कर्मचारीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । उमेशप्रसाद र उहाँको कक्षका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा पठाइनेछ।”  

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मूख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचारका सन्दर्भमा वितेको छ ।


प्रतिक्रिया दिनुहोस्