सरकारी वकिल कार्यालयद्वारा सांसद र पूर्वआइजीपीविरुद्ध अपहरणको जाहेरी दर्ता अस्वीकार

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ११ : ०७


काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । बस्नेत, श्रेष्ठ र खनालले डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरी पनि अस्वीकार गरिएको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता अस्वीकार गरिएपछि जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालय पुग्नुभएको थियो । दुई घण्टा लामो छलफल भएको तर सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मान्नुभएको थिएन ।

सांसदद्वय बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० बैशाखमा महोत्तरीबाट काठमाडौं ल्याउनुभएको थियो । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आउनुभएको छ ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गर्दै आएका छन् । महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुग्नुभएको थियो ।
 


प्रतिक्रिया दिनुहोस्