क्वारेन्टाइनमै एक वृद्धको मृत्यु, कोरोना परीक्षणका लागि स्वाव लिइयो

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : २४


रोल्पा । रोल्पाको क्वारेन्टाइनमा बसिरहेका एक व्यक्तिको सोमबार राती मृत्यु भएको छ।

माडी गाउँपालिका वडा नं. २ पारिवाङको क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो। 

क्वारेन्टाइनमा मृत्यु भएका ती व्यक्ति दमका रोगी भएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो। उहाँका अनुसार काठमाडौंको ईट्टाभट्टामा काम गर्ने छोराको कोठामा बसेर उपचार गरिरहेका ती व्यक्ति केही दिनअघि लकडाउनकै समयमा रोल्पा आइपुगेका हुन्।

"काठमाडौंमा अलपत्र मजदुरलाई उद्धार गरी रोल्पा ल्याउने क्रममा ती बृद्ध पनि रोल्पाको आएका थिए", गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो, "करिब ५ दिन अगाडि रोल्पा आएका ती बृद्ध छोरा बुहारीहरुसँगै क्वारेन्टाइनमा बस्दै आएका थिए।"

परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोही नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। 

क्वारेन्टाइनमा बसेकै बेला मृत्यु भएको हुँदा उनको स्वास्थ्य परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस्