रोकिएका अशक्त, बिरामी, श्रमिक र विद्यार्थी घर जान पाउने

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : ०५


खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरवासीलाई घर ल्याउने भएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको लकडाउनको कारण यातायात सञ्चालन नभएपछि घर फर्कन नपाएर काठमाडौँमा अलपत्र परेका नागरिकलाई नगरपालिकाले गाडी पठाएर घर ल्याउने भएको हो ।
 
लकडाउनको मारमा परेका अशक्त, बिरामी, श्रमिक र विद्यार्थीलाई काठमाडौँस्थित मेरिडियन अस्पतालमा स्वास्थ्य परीक्षण गराएर घरसम्म ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “लकडाउनका कारण घर फर्कन नपाएका नगरवासीलाई वैशाख १८ र १९ गते बसमार्फत ल्याउने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “समस्यामा परेकालाई उद्धार गर्न १५ वटै वडाका वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर पहिचान गर्ने काम भइरहेको छ ।”

नगरपालिकाले उद्धार गरेर ल्याइएका व्यक्तिलाई सम्बन्धित वडामा लगेर स्वास्थ्य परीक्षण गरेपछि होम क्वारेन्टाइन तथा सम्बन्धित वडा कार्यालयले निर्माण गरेका क्वारेन्टाइनमा राखिने जनाइएको छ । शहरबाट आएर क्वारेन्टाइन नबस्ने व्यक्तिलाई पक्राउ गरेर कानूनी कारवाही गरिने नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा शहरमा अलपत्र परेका व्यक्तिलाई गाउँ फर्काउने होडबाजी नै चलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ बस रिजर्भ गरेर एक हजार २६७ नगरवासीलाई घर फर्काएपछि जिल्लामा शहरबाट गाउँ फर्काउने होडबाजी चलेको हो ।

अहिले रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्ना नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयवासीलाई आफँैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारणसमेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ ।

शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो । उता दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने शहरमा रहेका व्यक्तिलाई गाउँ फर्काउँदा सङ्क्रमणको जोखिम हुने भन्दै बसिरहेकै ठाउँमा पुगेर राहत उपलब्ध गराइरहेको छ । उक्त गाउँपालिकाले अहिलेसम्म विभिन्न शहरमा रहेका २०२ नागरिकलाई बसिरहेकै ठाउँमा लगेर राहत उपलब्ध गराएको जनाइएको छ ।
 
जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रका गरिब तथा दैनिक ज्यालादारी कामदारलाई राहत वितरण गरिरहेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्न जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।
 
विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । मुलुकभर कोरोना भाइरसको सङ्क्रमण शुरु भएपछि जिल्लामा १४० व्यक्ति भित्रिएका भए पनि गत चैतयता घर फर्किएका ११५ व्यक्तिको आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्