प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता जारी

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ३४


काठमाडौं । पार्टीभित्र तीव्र विवाद चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै अध्यक्षको भेटवार्ता चलिरहेको छ।

प्रधानमन्त्री निवास वालुुवाटारमा दिउँसो १ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकारी भइरहेको बताइएको छ।

दुई अध्यक्षको भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो। 

दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ।

पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बैठक बोलाउन हस्ताक्षर गरेर नै दिएको भए पनि स्थायी समिति त के सचिवालय बैठक पनि बस्ने नबस्ने केही टुंगो लागेको छैन। 

सोमबार नेकपा स्थायी समितिका एक सदस्यले मंगलबार सचिवालय बैठक बस्ने भने पनि अहिलेसम्म अन्यौल रहेको छ। अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा हुनुहुन्छ तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ।

पछिल्ला दुई अध्यादेश ल्याएसँगै प्रधानमन्त्री ओलीलाई पार्टी भित्र र बाहिर उक्त कदमको आलोचना हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्