लकडाउन उल्लंघनका घटना बढे, गाउँ जानेहरुको भीड

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ००


काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि लाक डाउन गरिएपनि देशभरी नै जनस्तरबाट यसको उलंघन हुन थालेको छ।

सरकारले आइतबार वैशाख २५ गतेसम्म लक डाउन जारी रहने निर्णय गरेको छ । तर जनस्तरमा भने यसको पालना भएको पाइएको छैन् । चैत ११ बाट जारी लक डाउनको समय लम्बिदै गएपछि सर्वसाधारण र स्थानीय तहहरुले यसको उलंघन गरिरहेका छन्।

उपत्यका लगायतका देशका अन्य ठूला सहरबाट गाउँ जाने सर्वसाधारणहरुको भिड छ।

स्थानीय तहहरुले गाडी नै बुकिङ गरेर आफ्ना नागरिकहरुलाई गाउँ भित्र्याइरहेका छन्।

कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम राख्नुपर्ने स्वास्थ्य विज्ञहरुले बताइरहेपनि स्थानीय तहहरुले एउटै गाडीमा ठूलो संख्यामा सर्वसाधारण राखेर गाउँ भित्रइरहेका छन्।

यसैबीच विराटनगरबाट उद्दार गरिएका केही व्यक्तिहरु नागढुंगामा अलपत्र परेका छन्। विराटनगरबाट आएका गाडीहरु प्रहरीले उपत्यका प्रवेश गर्न नदिएपछि उनीहरु नागढुंगामै अलपत्र परेका हुन्।

विराटनगर महानगरपालिकाले विभिन्न ७ वटा गाडीमा राखेर १ सयभन्दा बढी नागरिकलाई काठमाडौं पठाएको थियो।

यसैगरी रतुवामाई गाउँपालिकाले पनि आफ्ना नागरिकहरुलाई लैजान पठाएको गाडीमा आएकाहरु पनि अलपत्र छन्।

विराटनगरबाट काठमाडौं आएका सर्वसाधारण कागेश्वरी मनोहरा ८ का स्थानीय विष्णु प्रसाद गुरागाईंले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकको उद्दार गर्न रतुमाइ गाउँपालिकाले पठाएको गाडीमा आफु आएको बताउनुभयो।

गाउँपालिकाले काठमाडौं जान लागेको गाडी खाली नै भएकाले आफुहरुलाई त्यसैमा जान भनेपछि नागढुंगामा प्रहरीले रोकेर राखेको बताउनुभयो।

गुरागाईंका अनुसार गाउँपालिकाले उपत्यकाबाट २ सयभन्दा बढी नागरिकहरुलाई लैजान गाडी पठाएको हो।

सिन्धुपाल्चोक जान विराटनगरबाट आउनुभएका याङलुङ तामाङले प्रहरीले आफुहरुलाई रोकेपनि आफुसँगै आएकाहरुलाई गाडीमा काठमाडौं पठाएको आरोप लगाउनुभयो।

‘विराटनगरबाट मेयरले मिलाएर पठाउनुभयो। बाटोमा केही भएन्। गाडीमा औषधि पनि हालिएको थियो। तर यहाँ आएपछि हामीलाई प्रहरीले रोकेको छ। केहीलाई काठमाडौं पठाएको छ।’, उहाँले भन्नुभयो, ‘पठाउने भए सबैलाई पठाउनुपर्ने नभए सबैलाई फर्काउनुपर्ने थियो। हाम्रो विजोग भयो।’

लक डाउनको चौतर्फी उलंघन हुन थालेपछि गृहमन्त्रालयले लक डाउन कडाई गर्न निर्देशन दिएको छ। गृहले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै लक डाउन उलंघन गर्न निर्देशन दिएको हो । सवारी पास नभएका सवारी पनि चलेको पाइएको भन्दै गृहले प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्न पत्राचार गरेको हो।


प्रतिक्रिया दिनुहोस्