कोरोना बारेका झूटमा किन विश्वास गर्छन् मानिसहरू ?

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ५३


कुनै पनि स्वास्थ्य सङ्कटका बेला गलत सूचनाको महामारी पनि उत्पन्न हुनु एउटा दुखद सत्य हो।

सन् १९८०, १९९० र २००० ताका एड्सबारे हामीले यस्तै खतरनाक झूट फैलाइएको देख्यौँ।

त्यसबेला एचआईभी भाइरस सरकारी प्रयोगशालामा बनाइएको थियो भन्नेदेखि त्यसको परीक्षण विश्वसनीय छैन भन्नेसम्मका गलत जानकारी फैलाइएको थियो।

एउटा भ्रामक र निराधार सूचनामा त बाख्राको दूधले यसको उपचार गर्न सकिन्छ समेत भनिएको थियो।

यस्ता गलत दाबीहरूले जोखिमयुक्त व्यवहारहरू बढाइदिए र सङ्कटलाई थप गहिरो बनाइदिए।

हानिकारक विचार
अहिले हामी कोरोनाभाइरस महामारीबारे नयाँखाले गलत समाचारहरूको बाढी देखिरहेका छौँ।

फेसबुकदेखि ह्वाट्सएपसम्ममा लगातार गलत सूचनाहरू फैलाइने गरेको छ। त्यस्ता कुराहरूमा प्रकोपको कारणदेखि कसरी कोभिड-१९ बाट बच्नेसम्मका सूचना समावेश छन्।

र, त्यस्ता सूचनाहरूको सबैभन्दा खराब रूप भनेको ती आफैँमा हानिकारक छन्।

हालैको एउटा खबर अनुसार यस्तै अफवाहका कारण मदिरा सेवन गर्दा इरानको एउटा प्रदेशमा कैयौँ मानिसहरूको मृत्यु भएको थियो।

कसैले कारखानामा प्रयोग हुने अल्कोहल (मदिरा) सेवन गर्दा कोरोनाभाइरसबाट मुक्त हुन सकिन्छ भन्ने हल्ला फैलाएपछि ती मानिसहरूले मदिरा सेवन गरेका थिए।

तर यस्तो लाग्छ- हानिकारक विचारहरूले मानिसहरूलाई गलत सुरक्षा प्रत्याभूति दिन्छ र त्यसतर्फ आकर्षित गर्छ।

त्यसले मानिसहरूलाई सरकारद्वारा जारी गरिएका मापदण्डहरूप्रति वफादार रहनबाट रोक्छ र स्वास्थ्यकर्मी तथा संस्थाहरूद्वारा गरिएका प्रयासहरूलाई विफल पारिदिन्छ।त्यस्ता विचारहरू मानिसहरूसँग लामो समय रहिरहन्छन् भन्ने प्रमाणहरू पनि भेटिन्छन्।

"छल" र "मानव निर्मित महामारी"को दाबी

युगभ् नामक जनमत सर्वेक्षण गर्ने संस्था र इकोनोमिस्टले मार्च २०२० मा गरेको एउटा सर्वेक्षणमा सहभागीमध्ये १३ प्रतिशत अमेरिकीहरूले कोभिड-१९ सङ्कटलाई एउटा होक्स अर्थात् छलकपट भन्ने ठान्ने गरेको पाइयो।

त्यस्तै ४९ प्रतिशतले यसलाई मानव निर्मित महामारी मानेको पाइयो।

अनि, तपाईंले ठान्नुहोला यस्तो खाले भ्रम कम पढेलेखेका मानिसहरूमा बढी हुन्छ। तर उदेकलाग्दो कुरा के छ भने- पढेलेखेकै मानिसहरू यस्ता अफवाहको जालोमा परिरहेका छन्।

शिक्षित नै जालोमा
उदाहरणका रूपमा चर्चित लेखिका केली ब्रोगनलाई नै लिउँ न। उनी कोभिड-१९ को एक 'षड्यन्त्र सिद्धान्तकार' हुन्।

उनले म्यासाच्युसेट्स् इन्स्टिच्युट अफ टेक्नोलोजीबाट र मनोरोग चिकित्सामा कर्नल विश्वविद्यालयबाट डिग्री लिएकी छन्।

तर उनले इटली र चीनको जस्तो कोरोनाभाइरस सङ्कटको खतरालाई अस्वीकार गरिदिइन्।

उनले त आधारभूत जीवाणु सिद्धान्त (जर्म थ्योरी)लाई पनि प्रश्न गरिन् तर सुडोसाइन्टिफिक अर्थात् छद्म-वैज्ञानिक विचारहरूलाई प्रवर्द्धन गरिन्।

त्यति मात्र होइन, तपाईं-हामीले यस्ता गलत सूचनाबारे धेरैभन्दा धेरै विचार विमर्श गरुन् भन्ने अपेक्षा गरेका विश्व नेताहरूसमेत महामारीको जोखिम थप बढाउने तथा असुरक्षित उपचारलाई बढावा दिनमा दोषी देखिन्छन्। जबकि उनीहरूले त्यो भन्दा धेरै राम्रो गर्न सक्थे।

त्यसले गर्दा ट्विटर र फेसबुकले असामान्य कदम चाल्दै भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र ब्राजिलका राष्ट्रपति बोल्सोनारोका पोस्टहरू हटाउनु पर्‍यो।

मनोवैज्ञानिकहरूले यस्ता घटनाहरूको अध्ययन सुरु गरिसकेका छन्।

समस्या
समस्याको एउटा हिस्सा यस्ता सूचनाहरूको प्रकृति कस्तो छ भन्ने हुन आउँछ। हामी हरेक दिन सूचनाको बाढीबाट घेरिएका हुन्छौँ त्यसैले हामी कुन चाहिँ सही छ भन्ने कुरा अन्तस्करणबाट सुनेर निर्णय गरिहाल्छौँ।

यस्ता जानकारीहरू यसरी लेखिएका हुन्छन् कि पढ्नेहरूका तार्किक क्षमता कमजोर हुनजान्छ। उसले कुन माध्यमबाट यो जानकारी आयो भन्ने थाहा पाउने कोसिस पनि गर्दैन। अस्ट्रेलियन न्याशनल युनिभर्सिटीका एकजना अनुसन्धानकर्ता एरिन न्युम्यान भन्छन्- कुनै पनि जानकारीसँग राखिएको तस्बिरले त्यो ठीक हो भन्ने कुराप्रति हाम्रो विश्वास बढाइदिन्छ, चाहे त्यो दाबीसँग मात्र सम्बन्धित होस्।

यदि कोरोनाभाइरसको उपचार सम्बन्धित जानकारीको दाबी गरिएको सन्देशसँग कुनै पनि भाइरसको तस्बिर राखिएको छ भने मानिसहरूले त्यसलाई अरु कुनै स्रोतबाट पुष्टि नगरी विश्वास गर्छन्। हामी त्यसलाई सत्य नै ठान्छौँ। यस्ता गलत सूचनाहरूलाई सही साबित गर्न त्यससँग निजी कथाहरू, नाम, दर्ता भएका स्वास्थ्य संस्थानहरूसम्मका नाम सामेल गरिन्छन्।

यस्ता जानकारीहरूलाई सत्य देखाउन विभिन्न खाले उपायहरू अपनाइन्छन्, जसले गर्दा पढ्नेहरूलाई यो सत्य हो भन्ने लागोस्।

कसरी बच्ने?
हाम्रो अनलाइन व्यवहारको कुरा आउँदा हामी भावनात्मक कुराहरूमा बढी आफूलाई सामेल नगरी यस्ता सूचनाबाट बच्न सक्छौँ। अनि यसलाई सेअर गर्नु वा अरूलाई पठाउनु अघि यसको तथ्यहरूको आधार के हो सोच्नुहोस्।

के यो कडा वैज्ञानिक तथ्यमा आधारित छ? के म यसको वास्तविक स्रोत पत्ता लगाउन सक्छु? अहिले उपलब्ध तथ्याङ्कसँग यसलाई तुलना गर्न सकिन्छ? र कतै लेखक गलतखाले आम धारणालाई लिएर पो तर्क गरिरहेका छन् कि?

यस्ता खाले प्रश्नहरू सोधिनुपर्छ। यसलाई मानिसहरूले मन पराउँछन् कि पराउँदैनन् भन्दा पनि अरूका लागि यो सहयोगी हुन्छ कि हुँदैन हेर्नु जरुरी हुन्छ।

यस्ता गलत सूचनाको महामारी रोक्नका लागि एउटै उत्कृष्ट उपाय त छैन। तर तपाईंले कुन सामग्री सही हो भन्ने परख गर्न अलिकति मात्रै ध्यान दिनुभयो भने यस्ता सूचनाको महामारीबाट बच्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्