कांग्रेस, जसपा र राप्रपा एक ठाउँमा, सरकारविरुद्ध कडा संघर्ष गर्ने

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : ५१


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपाले सरकारविरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने जनाएका छन्।

सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले सरकारले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्षसहित संघर्षमा उत्रिने जनाएका हुन्। 

तीन पार्टीबीचको बैठकपछि कांग्रेस सभापति देउवा, जसपाको तर्फबाट उपेन्द्र यादव र शरदसिंह भण्डारी तथा राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरि विज्ञप्ती समेत जारी गरेका छन्।

विज्ञप्तीमा जनाइएअनुसार सरकारकै संलग्नतामा सांसदको अपहरणसम्म भएको भन्दै बैठकले उक्त घटनामा संलग्नहरुलाई कार्बाही गर्न माग गरिएको छ। 

त्यस्तै, लकडाउनको समयमा सरकारले जनतालाई न्यूनतम आवश्यकता र राहत प्रभावकारी रुपमा दिन नसकेको र कोरोना भाइरस संक्रमणको परीक्षण निकै सुस्त भइरहेको भन्दै आपत्ति पनि जनाएको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागी हुनुभएको थियो भने जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो,
महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुभएको थियो। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो।

बैठकमा निर्णयहरु-

१. लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ। हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।

२. सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन्। यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ।

३. कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन। यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ। साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ।


प्रतिक्रिया दिनुहोस्