सुतिरहेकी १४ वर्षीया बहिनीमाथि आफ्नै दाजुले गरे बलात्कार

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : ००


भक्तपुर । भक्तपुरमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ । वैशाख १३ गते बिहान सुतिरहेकी १४ वर्षीया बहिनीमाथि उनकै दाजुले बलात्कार गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दाजुबहिनी जिल्लाको मध्यपुर थिमी नपा– ९ बोडेस्थित कृषि तालिम केन्द्र नजिकै आफन्तको जस्ताको टहरोमा बस्दै आएका थिए ।  सिन्धुपाल्चोक घर भएका २३ वर्षीय दाजुले वैशाख १३ गते बिहानै आफ्नै सहोदर १४ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको परिसरले जनाएकाे छ ।

दाजुले बहिनीलाई जबरजस्ती करणी गर्दै गरेको अवस्था भेटाएर प्रहरीलाई खबर गरेको र दाजुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको बताइएकाे छ । उनलाई जिल्ला अदालतमा पेस गरी अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको छ ।

पीडित बहिनीको मेडिकल जाँचपछि आफन्तलाई बुझाइएको र दाजुमाथि जबरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्