वुहान । कोरोना भाइरस सुरु भएको चीनको वुहानमा अब कुनै संक्रमित नरहेको अधिकारीहरुले बताएका छन्।
पहिलो पटक कोरोना भेटिएको वुहान कोरोना शुन्य बनेको हो। अब त्यहाँका अस्पतालहरुमा कुनैपनि कोरोना संक्रमित नरहेको बताइएको छ।
चिनियाँ समाचार संस्था सिन्हवाले कोभिड-१९का कुनैपनि बिरामी वुहानमा नरहेको जनाएको छ।
कोरोना भाइरसलाई नियन्त्रणमा लिएको चीनले हुबेई प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि अर्थात् झण्डै दुई महिना पछि लकडाउन हटाएको थियो।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले यो उपलब्धि वुहानका स्वास्थ्यकर्मीहरूको कडा परिश्रम र भाइरस विरुद्ध लड्न देशभरबाट वुहान पठाइएका व्यक्तिहरूको सहयोगले सम्भव भएको बताएका छन।
सरकारी समाचार एजेन्सी सिन्हुआका अनुसार वुहानमा अन्तिम बिरामीमा रुपमा अस्पतालमा रहेकाहरुलाई शुक्रबार डिस्चार्ज गरिएको छ।
हुबेईको स्वास्थ्य आयोगले शनिबार देखि हालसम्म कोरोना संक्रमण वा मृत्युको कुनै एउटा घटना पनि वुहानमा दर्ता नभएको जनाएको छ।
आयोगका अनुसार शुक्रकार ११ बिरामीलाई वुहानको अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
हालसम्म हुबेईमा संक्रमणका ६८ हजार बढि घटनाहरु दर्ता भएका थिए, जसमध्ये ५० हजार बढि वुहानबाट आएका थिए।
विश्वमा पहिलो पटक कोरोना संक्रमणको पहिलो घटना जनवरीदेखि चीनमा देखिएको थियो। सबैभन्दा बढी प्रभाव त्यहाँ हुबेई र वुहानमा देखिएको थियो।
चीनले आधिकारिक रूपमा डिसेम्बरको अन्तमा वुहानमा कोरोना भाइरस पत्ता लागेको जनाएको छ।
तर,२३ जनवरीदेखि साढे पाँच लाख जनसंख्या भएको हुबेईमा लकडाउन लागु गरिएको थियो।
अमेरिका र अन्य धेरै देशहरूले चीनको आलोचना गर्दै लकडाउन एकदम ढिलो गरेको र जसका कारण यो भाइरस सारा संसारमा फैलिएको आरोप लगाउने गरेका छन्।
यो भाइरस वुहानको समुद्री मार्केट अथवा वुहानको प्रयोगशालाबाट आएको हो भन्ने पनि आरोप लगाइएको थियो।
तर,चीनले यसलाई अस्वीकार गर्दै कोरोना भाइरसको जन्म एक वैज्ञानिक प्रश्न भएको बताएको छ। विज्ञान र चिकित्सा जगतमा जगतका लागि प्रश्न भएको बताउँदै यसको उत्तर खोज्न सकिने चीनले बताउँने गरेको छ।