विपन्न वर्गलाई राहत प्रदान

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  २ : ०२


काठमाडाैं । काठमाडौँ महानगरपालिका–१३ ले आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ७०० लाई राहत प्रदान गरेको छ । दैनिक आयस्रोत नभएर जीविकोपार्जन गर्न कठिन भई वडाभित्र स्थायी र अस्थायी बसोबास गरेका नागरिकलाई वडा कार्यालयले चामल, चिउरा, दाल, नुन र तेल वितरण गरेको हो । 

वडाले गत चैत २२ गतेदेखि राहत वितरण शुरु गरेकामा आजसम्म पाँचपटक खाद्यवस्तु प्रदान गरेको वडाध्यक्ष ध्रुवनारायण मानन्धरले जानकारी दिनुभयो । राहत वितरणका लागि अहिलेसम्म करीब रू छ लाख खर्च गरेको वडाले छुटेका विपन्न परिवारलाई यही वैशाख १७ गते पुनः ती सामग्री प्रदान गर्नेछ । सम्बन्धित घरधनीको घर नं, नागरिकता नं, सम्पर्क नं, सिफारिसका साथै राहत लिनेको नागरिकता नं अभिलेख गरेर राहत दिने मापदण्ड बनाइएकाले वितरण प्रणाली पारदर्शी भएको पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिनुभयो । 

साधु, सन्त, शारीरिक अशक्तता भएका नागरिकलाई विशेष प्राथमिकतामा राखेर ती सामग्री बाँडिएको छ । मिर्गौैला, अर्बुद रोगजस्ता दीर्घकालीन रोग भएका बिरामीलाई मानवताका आधारमा महत्व दिइएको छ ।  
    
वितरण प्रणालीलाई व्यवस्थित गर्न आवश्यक सुरक्षा प्रदान गर्न सेना र प्रहरीको व्यवस्थापन गरिएको छ । पहिलो रेञ्जर गण छाउनीका क्याप्टेन नवीन श्रेष्ठले राहत वितरण वडाले प्रत्येक पटक प्रदान गरेको राहत वितरण कार्यक्रममा सामाजिक दूरी कायम गर्ने, गराउने, अन्य सहयोगको सहज व्यवस्थापनको प्रबन्ध गरेको बताउनुभयो । सो गणले त्यस वडाका १० जना स्वास्थ्य स्वयंसेवीलाई कोभिड–१९ को सङ्क्रमण व्यवस्थापन गर्नका लागि आवश्यक स्वास्थ्य प्रशिक्षण प्रदान गरेको छ ।  यसैबीच समाजसेवी देशकुमार श्रेष्ठले आज एक हजार मास्क वडालाई सहयोगस्वरुप प्रदान गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्