के भिन्न भाषा बोल्दा मानिसले भिन्न तरिकाले सोच्छन् ?

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : २५


मानिसहरू विश्वभरि ७,००० वटाभन्दा बढी भाषा बोल्छन्। के उसोभए एउटै विषयलाई हेर्ने ७,००० बटा तरिका हुन्छन् त? अस्ट्रेलियाका केही आदिवासीको भाषामा "दायाँ", "बायाँ", "अगाडि" अथवा "पछाडि" जनाउने शब्द नै छैनन्।

त्यसको सट्टा उनीहरू एकदमै सामान्य अवस्थामा उत्तर, दक्षिण, पूर्व र पश्चिमको प्रयोग गर्छन्। उदाहरणका लागि भोजन गर्दा यसो भनेको सुनिन सक्छ – नुन पूर्वतिर देऊ न। धेरैलाई यो भनाइ जटिल लाग्ला। तर यसले ती मानिसमा दिशाको राम्रो ज्ञान भएको सङ्केत गर्छ।

के त्यसको अर्थ आफूले बोल्ने भाषापिच्छे 'वास्तविकता' भिन्न हुन्छ त?

रङ्गको नाम
यूकेको ल्याङ्क्यास्टर यूनिभर्सिटीस्थित भाषाविज्ञानका प्राध्यापक पानोस आथानासोपोलोसका अनुसार भाषा "बुझ्न/पहिचान गर्न सकिने श्रेणीमा विषयहरूलाई राख्ने" हाम्रो तरिका हो। "यसले हामीलाई प्रयोगयोग्य 'लेबल' दिन्छ," उनी भन्छन्।

लन्डनको यूसीएलस्थित कग्नटिभ न्यूरोसाइन्सकी प्राध्यापक सोफी स्कटले भनिन्, "भिन्नभिन्न भाषाले जसरी विश्वलाई छुट्याएको छ त्यसले नै तपाईँले विशेषत: विश्वलाई कसरी हेर्नुहुन्छ भन्ने विषयलाई प्रभावित पारेको छ।"उदाहरणका लागि 'पुल' (अङ्ग्रेजीमा ब्रिज) शब्दलाई लिनुहोस्। तपाईँले बोल्ने भाषाअनुसार यो शब्द स्त्रीलिङ्गी वा पुंलिङ्गी जे पनि हुन सक्छ।

स्कट भन्छिन्, "फलत: मानिसहरूले पुल शब्द व्याख्या गर्दा फरकफरक अर्थ लगाउन सक्छन्।""यसको उपयोगिता अथवा यसको बल स्त्रीत्वसँग बढी जोडिएको हुन सक्छ भने यसको शक्ति र आकार पुरुषत्वसँग अझै बढी सम्बन्धित हुन सक्छ।"

भाषाले कसरी हाम्रो सोच्ने शैलीलाई असर पारेको हुन्छ भन्ने उदाहरण दिन प्राध्यापक आथानासोपोलोसले बीबीसीलाई नीलो र हरियोको बीचको रङ्गलाई नामकरण गर्ने विषयमा भएको प्रयोगबारे भने।

"विभिन्न भाषामा हरियो र नीलो रङ्ग जनाउने थुप्रै शब्द छन् जसलाई प्राय: 'ग्र्यू' भनिन्छ।"उदाहरणका लागि नामिबियाको समथर भागमा बोलिने हिम्बा भाषामा यो शब्द भेटिन्छ।

"एउटा प्रयोगमा हामीले सहभागीहरूलाई रङ्गीन टायलमा हेर्न भन्यौँ र ३० सेकन्डपछि उनीहरूलाई रङ्गहरूको विन्यास देखायौँ। हामीले उनीहरूलाई भर्खरै देखेको रङ्ग छान्न भन्यौँ। उक्त काम धेरै अङ्ग्रेजीभाषीका लागि कठिन थियो।"

"तर हिम्बाभाषीका मानिसले भने बच्चाको खेलजसरी सजिलै छुट्याए किनभने यो रङ्गसँग उनीहरू परिचित छन्।""त्यसैले सामान्यतया तपाईँको आफ्नो भाषामा नभएका रङ्गहरू तपाईँले सजिलै पत्ता लगाउन सक्नुहुन्छ," प्राध्यापक आथानासोपोलोसले भने।

विश्वबारे धारणा
हामीले वास्तविकतालाई कसरी लिन्छौँ भन्ने कुरालाई भाषाले आकार दिन्छ भन्ने विषयमा विगतमा धेरै आरोह तथा अवरोह देखिएका छन्।अमेरिकी भाषाविद् बेन्जमिन ली ओर्फ यो मान्यताका एक प्रभावशाली प्रस्तावक हुन्।

सन् १९४० मा उनले होपी नामक अमेरिकाको रैथाने भाषाबारे गरिएको अध्ययनमा उक्त निष्कर्ष प्रकाशित गरेका हुन्।आफ्ना भाषाका कारण होपीभाषी र अङ्ग्रेजीभाषी मानिसमा समयको अवधारणा बुझ्न र अभिव्यक्त गर्न भिन्न शैली भएको उनको मान्यता छ। प्राध्यापक आथानासोपोलोसका शब्दमा उनीहरू "विश्वका समान निरीक्षणकर्ता होइनन्।"

यसलाई भाषिक सापेक्षताको सिद्धान्त भनियो। तर रैथाने भाषामा नभएका अवधारणाहरू प्रयोगकर्ताले बुझ्न सक्दैनन् भन्ने होर्फको सिद्धान्तको आलोचना पनि भएको थियो।

केहीको तर्क थियो – यदि त्यसो हो भने मानिसले कसरी नयाँ कुरा सिक्न सक्छ?

विभिन्न सिद्धान्त
यूकेको ल्याङ्क्यास्टर यूनिभर्सिटीका भाषाविज्ञानका अर्का प्राध्यापक क्रिस्टोफर हार्ट भन्छन् – बोल्ने मानिसहरूको विचारलाई संरचनामा राख्न र अभिव्यक्त गर्न भाषाहरूले दबाव दिने तरिकाहरू छन्।

"भाषाको संरचनाले हामीलाई भाषाको प्रयोग गर्दाको त्यो समयसँग मिल्दोजुल्दो हुने वास्तविकताका केही पक्षहरूसँग सहभागी हुन दबाव दिन्छ," प्राध्यापक हार्टले भने।

यसलाई बोल्नका लागि सोच्ने परिकल्पना भनिन्छ जसको अर्थ हुन्छ बोल्नका लागि सामग्री दिमागमा तयार गरिरहँदाको प्रक्रियामा फरक भाषाका फरक व्यक्तिले फरक तरिकाले सोच्छन्।

अमेरिकाको स्यान डीएगोस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियाको कग्नटिभ साइन्सकी सहप्राध्यापक लेरा बोरोडिट्स्कीले यो वाक्य "Bush read Chomsky's latest book" भन्दै उदाहरण दिइन्।

अङ्ग्रेजी भाषामा तपाईँले वाक्य गठन गर्दा उचित कालको प्रयोग गर्नुपर्छ (भूतकाल) भने इन्डोनेशियामा कुन कालमा लेखिएको हो भन्ने जनाउन क्रियापदलाई परिवर्तन गर्नुपर्दैन।

रुसी भाषामा काल र लिङ्ग दुवै जनाउनका लागि तपाईँले क्रियापद परिवर्तन गर्नुपर्ने हुन्छ (पुस्तक पढ्ने जर्ज बुश थिए वा उनकी पत्नी लोरा थिइन्?) र पुस्तक आंशिक रूपमा पढिएको थियो वा पूरै भन्ने जानकारी पनि राख्नुपर्ने हुन्छ।

टर्कीको भाषामा तपाईँले यो सूचना कसरी प्राप्त गर्नुभयो भन्ने पनि उल्लेख गर्नुपर्ने हुन्छ: तपाईँले आफ्नै आँखाले देख्नुभयो वा अरू कसैले तपाईँलाई भनेको थियो?

सबैले एकै तरिकाले सोच्छन् भन्ने कुरा पक्कै पनि सम्भव छ तर त्यसबारे फरक व्यक्तिले फरक तरिकाले बोल्छन्।

तर बोरोडिट्स्की फरक शब्द प्रयोग गर्नुभन्दा यो परको कुरा रहेको बताउँछिन्: फरक भाषामा बोल्दा हामीले सही सूचना सङ्कलन गर्न आवश्यक हुन्छ।

विचारलाई क्रमानुसार राख्ने काम

उत्तरी अस्ट्रेलियाको सानो आदिवासी समुदाय पोम्पुरावमा बोलिने भाषा "कूक थायोर" हो।यो भाषामा दायाँ वा बायाँका लागि कुनै शब्द छैन। अनि साझा प्रश्न सोधिन्छ: "तपाईँ कहाँ जाँदै हुनुहुन्छ?"

बोरोडिट्स्कीका अनुसार बाहिरका मानिस त्यो सुनेर अलमलिन सक्छन्। "दक्षिण-दक्षिणपूर्व, बीचको दूरीमा…उत्तर यस्तै केही हुन सक्छ। यदि आफू फर्किएको दिशा थाहा छैन भने तपाईँ सामान्य अभिवादनमै सीमित हुनुपर्ने हुन्छ," बोरोडिट्स्की लेख्छिन्।

कुनै पनि व्यक्तिले रैथाने भाषाभाषीले जस्तै गरेर कूक थायोर भाषामा आफूलाई निपूण बनाउन सक्छ। तर आफ्नो भाषाका कारण उनीहरू वास्तविकताको यो पक्षप्रति विशेष सचेत हुन बाध्य हुन्छन्।यही विशेषताका कारण कूक थायोरमा समयबारे सोच्ने विषयमा पनि भिन्नता भएको बोरोडिट्स्कीले पत्ता लगाएकी छन्।

उनको टोलीले उनीहरूलाई चित्रहरू दिए र त्यसलाई मितिअनुसार क्रमिक रूपमा राख्न भने। उदाहरणका लागि उनीहरूले एक व्यक्ति वृद्ध हुँदै गएको अथवा केरा खाँदै गर्दाको तस्बिर देखाएका थिए। अङ्ग्रेजी भाषा बोल्नेहरूले त्यसलाई दाँयादेखि बायाँ राखे र हिब्रू भाषा बोल्नेहरूले दायाँबाट बायाँ राखे। दुवै परिस्थितिमा उनीहरूले आफ्नो भाषा लेख्ने तरिकाअनुसार तस्बिरको क्रम मिलाए।

तर कूक थायोर बोल्नेहरूले भने त्यसलाई पूर्वदेखि पश्चिमसम्म मिलाए। यो प्रयोगमा उनीहरू कुन दिशामा फर्किएका छन् भन्ने नबताइँदा पनि यो सही भयो। भाषाले आफैँ प्रशिक्षित गर्ने भएकाले दिशा पत्ता लगाउने दुर्लभ क्षमता उनीहरूमा विकसित हुने उनको मान्यता छ।

समयलाई दृष्टिगत गर्दै

त्यसैले अर्को पटक तपाईँको भन्दा फरक भाषामा जन्मिएको र हुर्किएको मानिससँग कुरा गर्दा धारणा केही फरक हुन सक्छ भन्ने सम्झनुहोस्। समय व्यतीत भए जस्तो लाग्ने सार्वलौकिक विषयमा पनि मानिसहरूको धारणा फरक हुन सक्ने हेक्का राख्नुपर्छ।

वास्तवमा अङ्ग्रेजीभाषीहरू समय अगाडि भएको तर समयलाई पछाडि छोडिरहेका हुन्छौँ। चीनमा बोलिने म्यान्डरिन भाषामा समय अगाडि, पछाडि, तल र माथि जता पनि पनि सक्छ। "खासमा यो भाषा सिक्ने एकदमै राम्रो कारण हो… र विश्वबारे फरक धारणा बनाउनका लागि पनि यो काम लाग्छ," प्राध्यापक आथानासोपोलोसले भने।

उनले पुनश्च भने: खासमा यही फरक कारणले नै हामीलाई एकताबद्ध बनाउँछ। "मानवीय स्वभावको केन्द्रमा विविधता छ र विविधता नै सम्भवत: मानवीयता एउटा सार्वलौकिक सत्य हो।"


प्रतिक्रिया दिनुहोस्