राहतको बिषयमा प्रहरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ०५


प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी -बर्दघाट–सुस्ता पश्चिम- मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।

झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्रहरीसँग स्थानीयवासीको झडप भएको हो।

समूहमा आएका केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

उहाँको टाउकामा चोट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाइएको छ । रामग्राम नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत असङ्गठित क्षेत्रका मजदूर तथा अति विपन्नवर्गका लागि राहत वितरण शुरु गरेको थियो।

उक्त वडामा राहत वितरण भइरहेका अवस्थामा  एक समूह आएर हुनेखानेलाई पनि राहत दिनुपर्ने भन्दै विवाद निकालेर वडा कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष जीतबहादुर गोसाईँले जानकारी दिनुभयो। तालाबन्दी खोल्न पुगेको प्रहरीसँग समूहमा रहेका स्थानीयवासीले आक्रमण गरेको उहाँले बताउनुभयो । उक्त वडाका २०० घरधुरीका लागि राहत वितरण गरिएको थियो। 

पत्रकारलाई स्यानिटाइजर र मास्क

नेपाल पत्रकार महासङ्घ  नवलपरासी९बर्दघाट–सुस्ता पश्चिम०ले जिल्लाका सञ्चारगृह र पत्रकारलाई स्यानिटाइजर र मास्क वितरण गरेको छ। सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले पत्रकार महासङ्घलाई आज ७० थान ह्याण्ड स्यानिटाइजर, १० थान एन –९५ मास्क र सात सय थान सर्जिकल मास्क उपलब्ध गराउनुभएको हो।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण अभियानमा सञ्चारक्षेत्रबाट अग्रपंक्तिमा रही फिल्डमा खटिएका पत्रकारलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको नगर प्रमुख थापाले बताउनुभयो। जिल्लाका छ  रेडियो र एउटा टेलिभिजनसहित पत्रकारलाई ती सामग्री उपलब्ध गराइएको महासङ्घका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस्