कोरोनाको कहर घट्दो क्रममा छ। सुरुमा आएका यो सँग सम्बन्धि अनुमानहरू पनि कतिपय ठाउँमा फेल खाएका छन्। हाम्रो देशको सन्दर्भमा पनि कतिपय त्यसका बारे गरिएका अनुमान र बच्ने नियमहरू लागू भएनन्। १४ दिनको गुप्तवास पछि यो सर्दैन, देखिदैन, लाग्दैन रे भन्ने कुरा पनि नेपालको सन्दर्भमा अलि फरक देखियो। जे भएतापनि अब आतङ्क कम हुँदै गएको छ र अब बुद्धिमत्तापूर्ण निर्णयहरू गर्नुपर्ने बेला आएको छ।
अब भाइरस सङ्क्रमित देखिएका बाहेकका जिल्लाहरूको आवतजावत बिस्तारै खोलौँ। तर एयरपोर्ट र सिमा नाकाहरूमा अझै कडाइ गरौँ। जुन जुन जिल्लाहरूमा देखिएको छ वा देखिने क्रममा छ, त्यो जिल्लाबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाउँ। अझै केही समय खोलिने जिल्ला बाहेकमा यातायातका साधनहरू आवतजावतमा रोक लगाउँ, जसका कारण कोरोना नदेखिएका वा नियन्त्रणमा आइसकेका जिल्लाहरूको जनजिवन सामान्यतातिर अघि बढोस्। यसरी बिस्तारै खुकुलो पार्दै जिल्लाबाट पालिका हुँदै वडा स्तरीयमा सीमित गर्दै लैजाउँ सङ्क्रमित एरियाको पहिचान गरी।
चीनले सुरुदेखि नै जुन विधि अपनायो त्यो नै हाम्रो लागि पनि अति उत्तम विधि हो। हामीले पनि बढीमा दुइटा केन्द्र बनाऔं, कोरोनाका सङ्क्रमित राख्ने र उपचार गर्ने पूर्व र पश्चिममा। जहाँको जो बिरामी भए पनि उसलाई तोकिएको ठाउँमा लगेर राख्ने विधि बनाउँ। आखिर यसै पनि त्यो सङ्क्रमित व्यक्तिलाई आइसोलेसनमै राख्ने हो। घर परिवार र अन्य ब्यक्तिको देखभाल, हेरचाह भेटघाटबाट जसरी नि टाढा राख्नु नै छ। त्यसो गर्दा अन्यत्रको जनजीवन सामान्यतिर जान्छ, लान सकिन्छ। जुन जिल्ला, पालिका वा वडामा लकडाउन गरिन्छ, त्यसमा एकदमै कडा निगरानी गरौँ। नियम उलङ्घन गर्नेलाई हदै सम्मको कानुनी कारवाहीको ब्यवस्था गरौँ, जसका कारण अन्यत्र फैलिन नपाओस्।
र अन्यत्रको जनजीवन सामान्य हुँदै जाओस्। जसले गर्दा यो समयमा विदेश र स्वदेशबाट गाउँ जानु भएकाहरूले खेतीपाती गरेर बस्न पाउनुहुन्छ त्यसले उत्पादकत्व बढ्छ। विश्वमा आर्थिक रुपमा जति मन्दी लागे पनि त्यसले हामीलाई खासै असर किन गर्दैन भने हामी निर्यातबाट पालिएका जनता होइनौँ। यो मौकाको सदुपयोग गर्दै अहिले बिभिन्न देशहरूबाट स्वदेश फर्कनु भएको र सहरबाट गाउँ पस्नु भएकाहरूलाई कृषि र कृषिजन्य उद्योगमा लगाउन राज्यको लगानी बढाउने हो भने ती युवालाई गाउँमा रोक्न पनि सकिन्छ, स्वरोजगार बनाउन नि सकिन्छ। त्यसले उत्पादकत्व पनि बढाउँछ जसका कारण आयात गर्नुपर्ने कृषि, दूध र मासुजन्य बस्तुमा आत्मनिर्भर भै निर्यातसम्म पनि गर्न सकिने स्थितिमा पुग्न सकिन्छ। त्यसैले यो बेलामा नेपाल सरकारले किसानहरुको लागि कृषिमा केही प्याकेज घोषणा गरेर ल्याउने हो भने मौका यही हो गाउँ गएका युवा र विदेशबाट आएका युवालाई गाउँमै रोक्ने। स्वरोजगारी सिर्जना गरि उत्पादन बढाउने सुवर्ण अवसर हो यो र यसले गाउँको तीब्र विकासमा समेत सहयोग पुग्छ।
यो समय खेतबारीमा काम गर्ने उपयुक्त समय पनि हो। यसले गाउँमा युवा जमात नभएर वर्षौंदेखि बाझो पल्टिएको खेतबारी हराभरा हुने मौका पनि पाउँछ। सुनिन्छ गाउँमा अहिले कुखुरा, खसी, सुगुँर, राँगा र रक्सीको अत्यधिक खपत भइरहेको छ रे। तर काम भने नहुनुको कारणले गर्दा हृदयघातका घटनामा तिव्रता आएको छ र अकालमा ज्यान गैरहेको छ। बस्नु छ, खानु छ तर काम छैन। अनि लकडाउनका कारण बेलैमा जचाउन जान र अस्पताल समयमै पुर्याउन नसक्नु आदिले।
अर्को धेरैजसो अभिभावक र विद्यार्थीहरूको चासो र चिन्ताको विषय हो एसइइ र कक्षा ११ र १२ को परीक्षा कहिले हुने होला र स्कुल कहिले खुल्ने होला भन्ने। किनभने एसइइ दिन भनी सबै रुपमा पूर्ण तयारी अवस्थामा रहेका भाइबहिनीहरूलाई एक्कासी परीक्षा रोकिएको खबरले लल्याकलुलुक भएका भाइबहिनीहरू र आक्रोशित हुनुभएका अभिभावकहरू अहिले पनि अन्यौलमा रहीरहनुपर्ने बाध्यता छ।
पहिला कुरा गरौँ एसइइको। यो परीक्षा प्रायःजसो चैत्रको १५/१६ सम्म सकिन्थ्यो र विद्यार्थी कम्तिमा तीन महिना नतिजा प्रकाशनको प्रतीक्षामा हुन्थे यत्तिकै बरालिएर बस्थे र तीन महिनापछि नतिजा आउँथ्यो र श्रावण महिनामा बल्ल ११ को भर्ना र पढाइ सुरु हुन्थ्यो। बल्ल दुई तीन वर्ष त भएको थियो चाँडै रिजल्ट हुन थालेको नत्र त साढे चार महिना विद्यार्थीहरू यत्तिकै समय बिताएर बस्थे। फरक यत्ति हो कि काम सकेर बस्न पाउने भन्ने मात्रै हो।
पढ्ने भाइबहिनीहरूलाई यो ठूलो मौका पनि भएको छ कि आफ्नो अध्ययनलाई थप तिखार्न। अहिले पनि हामीले यदि जेष्ठको पहिलो हप्ता परीक्षा सुरु गर्न सक्यौ भने (जुन सम्भावना पनि छ) जुन विद्यालयमा सेन्टर छ, त्यही नै कोडिङ्ग र डि कोडिङ्ग गर्न परीक्षा बोर्डले कर्मचारी खटाउने, बरु कर्मचारी पुग्दैनन् भने करारमा लिने र उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण त्यही सेन्टरमा वा वडा स्तरीय परीक्षण र सम्परीक्षण गर्ने (सजिलो र राम्रो छिटो छरितो परीक्षा केन्द्रमै हुन्छ) ब्यवस्था गर्ने, महानगर र नगरपालिकामा वडा स्तरीय गाउँपालिकाहरूमा गाउँपालिका स्तरीय गर्ने हो भने पनि बढीमा ४५ दिनभित्रमा नतिजा प्रकाशन गर्न सकिन्छ।
यसमा एउटा समस्या आउन सक्छ त्यो के हो भने उपत्यका र शहरहरूबाट गाउँ गाउँमा विद्यार्थीहरू गएका छन् तिनीहरू नआई कसरी परीक्षा दिने ब्यवस्था गर्ने? हो यस्तो बेलामा सरकारी संयन्त्र अलि चुस्त र छरितो हुनुपर्छ, बनाउनु पर्छ।
यो समस्या सहरबाट गाउँमा गएका विद्यार्थीको हकमा मात्रै हो। सम्बन्धित विद्यालयसँग आ आफ्नो विद्यार्थी को कुन ठाउँमा पुगेको छ भन्ने विवरण थाहा भै हाल्छ त्यसैले सम्बन्धित विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा उक्त विद्यार्थीको स्थायी ठेगानासहितको सम्पूर्ण विवरण पठाउने र परीक्षा बोर्डले र विद्यालयले विद्यार्थीहरूलाई जानकारी गराउने। कपी करेक्सनको विधि त्यही गर्ने र मार्क्स परीक्षा बोर्डमा पठाउने। यसो गर्दा छिटो छरितो परीक्षा पनि गर्न सकिन्छ र नतिजा पनि समयमै प्रकाशन गर्न सकिन्छ र शैक्षिक सत्रलाई पनि खासै कुनै असर गर्दैन।
१२ को पनि यही तरिकाले गर्न सकिन्छ मात्रै परीक्षा एकै दिन गर्ने बिहान ७-१० एसइइको र कक्षा १२ को दिउँसोको १२-३ गर्ने गर्नुपर्छ किनकि स्कुलमा पढाइ पनि त्यो बेलामा हुने भएकोले धेरै दिन पढाइ गर्न नपाउँदा त्यो स्कुलमा अध्ययन गर्ने विद्यार्थीको पढाइमा असर पर्ने भएकोले। या त बिहान ७ बजेदेखि परीक्षा सुरु गर्दा पनि नियमित पढाइलाई खासै असर गर्दैन किनकि आजकल धेरै विषय प्राक्टिकल छन् त्यो दिन चाँडै छुट्टि भैहाल्छ। यसरी गर्ने हो भने थोरै दिनमा नै परीक्षा गरि सकिन्छ।
बाँकी कक्षा ११ को परीक्षाको। ११ को परीक्षा जहिले गरे पनि केही फरक पर्दैन। आखिर यसै पनि ११ को परीक्षाको नतिजा कुर्नुपर्ने होइन १२ पढ्नलाई। त्यसैले ११ को नतिजा चाहिने १२ को नतिजाको सँगसँगै हो। त्यही ग्रेड कम आउने विद्यार्थीलाई पुनः परीक्षाको समय चाहिने हो त्यो मिलाएर गर्न सकिन्छ हतार नगरिकनै। आखिर ११ को कोर्ष करिब सकिएकै छ। उनीहरूलाई १२ पढाउँदै गर्ने सबै अनुकूल भएपछि परीक्षा लिएर नतिजा प्रकाशन गर्न सकिन्छ पनि। ११ को परीक्षापछि एक महिना बिदा दिने चलन थियो, यसपालि परीक्षापछि एक दुइ दिन बिदा दिएर कक्षा १२ सुरु गर्ने विकल्प पनि छँदै छ। यसले पनि कुनै शैक्षिक सत्रलाई असर गर्दैन।
अब बाँकी रह्यो नियमित अरु कक्षा प्रि प्राइमरी र १-९ को। यसै पनि धेरै विद्यालय खुल्ने बेला बल्ल भयो किताब आउँदा सबै विद्यार्थी पढ्न र भर्ना हुन आउने समय हो यो। बैशाख अन्तिमतिर वा जेष्ठको पहिलो हप्ताबाट बल्ल किताबहरू पनि पूरै आइसक्थे र पूरै पढाइ पनि बल्ल सुरु हुन्थ्यो। २८० दिनको कर्मकाण्डीय पढाइ पूरा गर्नैपर्ने हो भने पनि त्यति दिन पूरा गर्न सकिन्छ यसरी। गर्मी बिदा, दशैं तिहारबीचको बिदा, जाडो बिदा र चैत्रको दोश्रो या तेस्रो हप्ता मात्रै २०७७ को एसइइ र स्कुलको फाइनल परीक्षा गर्ने तालिका बनाउने हो स्थानीय निकायहरू र विद्यालयले भने।
सिकाइको एउटा केन्द्र विद्यालय भए पनि मुख्य केन्द्र घर नै हो। पक्कै पनि केटाकेटी विद्यालय पठाएर दिनभरि घरमा आनन्दले बस्दा, बस्न पाउँदा पक्कै आनन्द त हुन्थ्यो अभिभावक ज्यूहरूलाई र केटाकेटीहरू लाई पनि खुला ठाउँमा खेल्न पाउथेँ तर पनि कति गार्हो हुन्छ दिनभरि साना केटाकेटीलाई घरमा तह लगाएर राख्न? काम दिएर राख्न? त्यो पनि अभिभावकज्यूले राम्रै महसुस गर्न पाउनु भयो। साथै धेरैको केटाकेटीहरूले भाइरसबारे सुन्ने र पालना गर्नुपर्ने नियमको बारे जान्ने राम्रो मौका पाएका छन् र धेरै घरका साना नानीबाबुले पनि घरमा सघाएर, बिभिन्न काममा मद्दत गरेर।
यसप्रकारले केटाकेटी बुझ्ने देखिएका छन् यो समयमा मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, बेला बेलामा साबुन पानीले हात धुनुपर्ने, जथाभावी बाहिर निस्किनु नहुने आदि आदि भाइरसबारे जान्ने सिक्ने बुझ्ने मौका पाए भाइबहिनीहरूले र प्रायः सबैको घरका साना नानीबाबुहरू पनि यस्तो बुझकी कि यो बेला आफ्ना केटाकेटी खराब मात्रै छन् भनेको आमाबाबुले नि यसपालिको यो घटनाले आमाबाबुलाई आफ्ना केटाकेटीका बारे अब छुट्टै धारणा बनाउन बाध्य पारेको छ। त्यसैले यसले के पनि प्रष्ट देखिन्छ भने राम्रोसँग बुझायो भने बरु साना नानीबाबुलाई बुझाउन धेरै सजिलो रहेछ, केटाकेटीहरू बुझकी रहेछन् भन्ने पनि प्रमाणित भएको छ। त्यसैले यहाँ बुझ्नै पर्ने कुरा के हुन् भने यस्ता सङ्कटहरू विश्वमा देखिएको यो पहिलो घटना होइन। यस्ता साना ठूला एक वर्षदेखि चार पाँच वर्षसम्म कन्ट्रोलमा नआएका थुप्रै महामारी छन्।
अझै यो कोरोनाले त मान्छेलाई मात्रै हानी गरेको छ, वातावरणलाई यसले बिगार्नुका सट्टामा झन राम्रो बनाएको तथ्यहरू बाहिर आउन थालेका छन् कि लकडाउनका कारण उद्योग, कलकारखाना मोटरगाडी आदि बन्द हुनाले।यस्ताखाले महामारीले हाम्रो मुलुक मात्रै होइन विश्वकै सामाजिक आर्थिक, राजनैतिक र ब्यक्तिका जीवनशैलीमा पनि परिवर्तन आएका छन् र अहिले पनि आउने छ। विश्वमा नै हालको त्रास कहिलेसम्म रहन्छ त्यो त ठोकुवा गरेर भन्न कठिन छ तर पनि सङ्कट जति लामो, असर त्यति नै मात्रामा बढि हुन सक्छ। विश्व ब्यवस्था, मुलुकहरूबीचको सम्बन्ध, ब्यक्तिको आचरण, आदिले सामाजिक आर्थिक पाटोमा ठूलै फेरबदल पार्ने निश्चित छ। विश्वमा समय समयमा देखिएका यी र यस्ता महामारीले समाज, देश र समग्र विश्वमा ठूला ठूला परिवर्तन भएका छन्।
राजनैतिक र आर्थिक संरचनामा ब्यापक परिवर्तन यसबाट उत्पादनका साधन र माध्यममा परिवर्तन अनि नयाँ नयाँ अनुसन्धान र सुधारका काम देखिएका छन्। अहिले पनि यो कोबिड १९ का कारण विश्वकै अर्थ व्यवस्थामा ठुलै नकारात्मक परिवर्तन आउने देखिन्छ। जसका कारण विश्वभर करिब २ करोड ३० लाख मानिस बेरोजगार हुने अनुमान छ। नेपालमा पनि अब बिभिन्न कारणले परदेसिएका करिब ६५ लाख नेपाली स्वदेश आउने क्रम सुरु हुन्छ। तिनीहरूलाई हामीले यहाँ कसरी अवसरहरूको सिर्जना गर्छौं? हाम्रो भविष्य त्यसमै निहित छ। रेमिट्यान्समा आधारित हाम्रो अर्थतन्त्रमा यसबाट ठुलो असर पर्न सक्छ यदि बेलैमा सोच्न नसकेमा र दुरदृष्टि नपुगेमा। विश्वमा जस्तै हाम्रोमा पनि गरिबीको रेखामुनिको सङ्ख्या बढ्न जाने छ।
यसैले हामीले अब हाम्रो शिक्षा र स्वास्थ्यमा गरिबलक्षित कार्यक्रम के हुने? के बनाउने भनेर छलफल र सल्लाह गर्न ढिलो भैसकेको छ। विश्वमै र हाम्रो देशमा अर्थतन्त्रमा पर्ने नकारात्मक असर तर नागरिकको जीवन शैलीमा आएको परिवर्तनले समाजमा धेरै ठुलो नकारात्मक असर पर्ने देखिन्छ। धेरै का पेसा, व्यवसाय वा कामहरू कटौती हुनेछन्, यसबाट धेरैले रोजगारी गुमाउनु पर्ने छ। निजी क्षेत्रमा भएका साना व्यवसाय बन्द हुनसक्छन् मझौला टिक्न मुस्किल मुस्किल पर्नेछ जसका कारण कम पारिश्रमिकमा पनि काम गर्न बाध्य हुन सक्छन्। निजी क्षेत्रको नियमन कमजोर भयो भने अनेकथरि चलखेल हुनसक्छ र त्यसले समग्रतामा सामाजिक सुरक्षा कमजोर बनाउन सक्छ। साना र मझौला व्यवसाय बन्द र सङ्कटमा पर्न सक्छन्, यसमा विद्यालयहरू समेत पर्नेछन् साना विद्यालय बन्द हुने मझौलाहरु जसोतसो चल्ने या मर्ज गर्नुपर्ने हुन सक्छ, यही नियम सामुदायिक विद्यालयहरूमा पनि लागू हुन्छ जसका कारण ती विद्यार्थी नभएका र मर्ज गरिएका विद्यालयका शिक्षकहरूलाई खाली दरबन्दी भएको ठाउँमा मिलान गर्दा देशको आर्थिक स्थितिमा केही सुधार ल्याउन सहयोग पुग्ने छ।
यी र यस्तै कारणले समाजमा धनी र गरिबबीचको खाडल अझै बढ्न जाने छ। बिभेदका खाडल अझै बढ्नेछन्। यसले विद्यालयहरूमा पनि निकै ठुलो असर पर्ने छ। हामीले जति विज्ञान र प्रविधिको कुरा गरे पनि हामी कक्षा कोठाबिना पढाउन सक्ने स्थितिमा छैनौं। अभिभावकको आर्थिक स्थिति, नेटवर्कको समस्या, मोबाइल र कम्प्युटरको उपलब्धता, वाइवाईको स्थिति आदि कारणले। हालसम्म १० हजार सामुदायिक विद्यालयमा मात्रै कम्प्युटर छ र त्यसमध्ये पनि १२ प्रतिशतमा मात्रै इन्टरनेट सुविधा, ३५ प्रतिशतमा विद्युतको सुविधा छ त्यसमध्ये कति शिक्षक प्रविधिमैत्री छन् हाम्रा? त्यसैले यो सङ्कटको बेला व्यक्तिलाई कसरी बदल्ने? हरेक सङ्कटले अवसर पनि दिन्छ त्यसैले अब हरेकले जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ। अबको हाम्रो शिक्षाको सबै स्वरुप पनि परिवर्तन गर्ने अवसरको रुपमा लिन सक्नुपर्छ यो समयलाई। अब ज्ञान र सीपलाई प्राथमिकता दिउँ।
अबको पाठ्यक्रम, पाठ्य बस्तु, पाठ्यभार, क्रेडिट आवर, सिकाइको विधि र प्रकृयामा आमूल परिवर्तन ल्याउने बेला यही हो हाम्रो शिक्षा प्रणालीमा। त्यस्तै परीक्षा प्रणालीमा झन जरुरी देखिएको छ परिवर्तन। १०र१० वर्ष पढ्यो, पढायो त्यत्रो वर्ष पढेको तीन घन्टे परीक्षाले उसको त्यत्रो वर्षको मल्याङ्कन? अब विद्यालयलाई नै जिम्मेवार बनाउनु पर्छ। मूल्याङ्कनको विधि छुट्टै बनाउनु पर्छ। मुख्य विषयको परीक्षा मात्रै बोर्डले लिएर अरु सामान्य विषयहरूको स्कुलले वर्षभरि पढाएको, सिकाएको र गरेको कार्य मूल्याङ्कनको आधारमा परीक्षाको मूल्याङ्कन विधि बनाउनु पर्छ। यसलाई मौकाको रुपमा लिइ सबैले सही र आवश्यक कदम चालौँ, पहल लिऔं र यो सङ्कटलाई अवसरको रुपमा बदलौँ।
(उहाँ शिक्षाकर्मी हुनुहुन्छ )