काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे बस्न थालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा बैशाख ८ गते जारी भएका दुई अध्यादेशलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जारी भएका दुई अध्यादेश फिर्ताका विषयमा निर्णय लिन बैठक बोलाएको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले हिजो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका ६ शीर्ष नेताले आजसम्म अध्यादेश फिर्ता नलिएमा भोलि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेपछि प्रधानमन्त्री ओली चर्को दवावमा छन् । पार्टीका वरिष्ठ नेताहरुलाई सुइँको समेत नदिई एक्कासी ल्याइएका दुई अध्यादेशमध्ये राजनीतिक दलसम्बन्धी अध्यादेश पार्टीभित्र र बाहिर सर्वत्र आलोचनाको विषय बनेको छ ।