गङ्गालाल तामाङ
२०७७ बैशाख ८ गते सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको छ । नयाँ अध्यादेशअनुसार अब पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत सदस्यको समर्थन प्राप्त गर्ने समूहले दल विभाजन गरी वैधानिकरुपमा राष्ट्रिय दल हुने र पार्टी छोडेको नमानिने व्यबस्था गरेको छ । साथै संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) अध्यादेश जारी गरी संवैधानिक परिषद्मा अध्यक्षसहित ३ जना सदस्यको उपस्थितिमा निर्णय गर्ने र विपक्षी दलको नेता सहभागी नहुँदा पनि नियुक्तिको निर्णय हुने व्यवस्था गरेको छ ।
देशमा अहिले विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि बन्दाबन्दी चलिरहेको छ । देशको आर्थिक क्रियाकलाप ठप्प छन् । खाद्यसंकट आउने चिन्ता व्यक्त गर्न थालिएको छ । गरीव जनता खाद्यान्नको अभावले छट्पटाउन थालेका छन् । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका युवाहरुको रोजगारी खोसिने अवस्था उत्पन्न हुने संकेत देखिएको छ । नागरिकहरु घरभित्र बस्न बाध्य छन् । आर्थिक मन्दीका लक्षण देखिन थालेका छन् । सरकारको व्यवस्थापकीय क्षमतामाथि प्रश्नचिन्ह उठेको छ । नागरिकहरुले नेकपालाई मतदान गरेर पछुताउनु परेको बताउन थालेका छन् । विश्व नै कोरोना भाइरसले त्राहिमाम भइरहेको बेला प्रधानमन्त्रीज्यू तपाईले त राजनीतिको फोहोरी खेलमार्फत जुका टाँसिए जसरी सत्तामा टिकिरहन दल विभाजनलाई सजिलो हुनेगरी अध्यादेश जारी गरेर गिनिज बुकमा नाम लेखाउन कम्मर कसेर लाग्नु भएको छ । तपाईलाई न नागरिकको चिन्ता, न देशको, न महामारीको, न आर्थिक मन्दी, न भोकमरी । चिन्ता छ त केबल सत्तामा टिकिरहने, व्यापारिक घरानाको, आफू वरिपरि रहेका भष्ट्रहरुको ।
प्रधानमन्त्रीज्यू, यो गणतन्त्र, परिवर्तन, संघीयता, संविधान त्यत्तिकै आएको होइन । बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एउटै हो भनेर सगौरभ तपाईले घोषण गरिरहँदा लाखौं जनताले जनयुद्धमा खुन पसिना बगाएर, आन्दोलनमा गोली, लठ्ठी खाएर समृद्धिको लागि ल्याएको गणतन्त्र हो । याद राख्नुहोस् । तपाईको उखान टुक्काले गणतन्त्र स्थापना गर्न कुनै भूमिका खेलेको छैन । तपाईलाई कत्ति याद छ ? म नि राज्य हुँ (क्ष् बm तजभ कतबतभ) भन्ने फ्रान्सका राजा लुई चौधौंलाई जनताले काटेर उनको टाउकोको फुटबल खेलेका थिए । आफ्नो सहकर्मीको राजनीति सिध्याउने, आफ्नो स्वार्थअनुसार नचल्ने सहकर्मीको नामोनिशान मेटाउने खेलमा तपाई जसरी राजनीतिक नैतिकता, मर्यादाको सीमा नाघ्दै हुनुहुन्छ नि, त्यसले तपाईलगायत नेपाली कम्युनिष्ट आन्देलनकै विनाश गर्दैछ । प्रतिस्पर्धीलाई सिध्याउन जस्तोसुकै हथकण्डा अपनाउँदा कसरी आफ्नो विनाश हुन्छ भनेर महाभारतको प्रसङ्ग त तपाईले पढनुभएकै होला । तपाईलाई फेरि म एकपल्ट स्मरण गराइदिन्छु ।
देवता र दानवबीच युद्ध चलेको थियो । देवताले मारेका दानवलाई उनीहरुका गुरु शुक्राचार्यले मृत सञ्जीवनी विद्याले पुनः जीवित तुल्याइदिन्थे । मरेका देवता भने जीवित हुन सक्दैन थिए । किनकि देवताका गुरु बृहस्पति मृत सञ्जीवनी विद्याबाट अनभिज्ञ थिए । दानवको जित निश्चित थियो । बृहस्पतिका छोरा कच मृत सञ्जीवनी विद्या सिक्ने उद्देश्यले शुक्राचार्यका चेला बने । यो कुरा थाहा पाएर आफ्नो सर्वनाश हुने ठानेर दानवहरुको सातो गयो । उनीहरुले कचको हत्या गरे । शुक्राचार्यले कचलाई पुनः जीवित तुल्याए । यो शृङ्खला पटकपटक चल्यो । दानवले कचको हत्या गरेर कचको अस्तुलाई मदिरामा मिसाएर शुक्राचार्यलाई नै पिलाइदिए । शुक्राचार्यले मृत सञ्जीवनी विद्याको बलले पुनर्जीवित गराउन खोज्दा कच आफ्नै पेटमा पुगेको चाल पाए । कचलाई बचाउन शुक्राचार्य मर्नुपर्ने अवस्था आयो । शुक्राचार्यले कचलाई मृत सञ्जीवनी विद्या सिकाई आफू मरेर कचलाई बचाए ।
दानवले जसरी नै विपक्षीलाई सिध्याउँछु भनेर मर्यादा नाघेपछि दानवकै वंशको विनाश भयो । प्रधानमन्त्रीज्यू आफ्ना विरोधीलाई सिध्याउँछु भनेर जसरी षड्यन्त्र गरिरहनु भएको छ, तपाईको अवस्था के होला ? आफै विचार गर्नुहोस् ।
राजनीति भनेको देशको उन्नति र जनताको भलाइको लागि गरिने सेवा कार्य हो । सत्ता प्राप्त गरेर सात पुस्तालाई पुग्नेगरी भ्रष्टाचार गर्ने पेशा होइन । राजनीति गर्नेले सहीलाई सही र गलतलाई गलत भनेर छुट्याएर सत्यको पक्ष लिँदैन भने उसले राजनीतिको नाममा कमाउने धन्दा गरिरहेको हुन्छ । नेकपाको नेताको अहिलेको अवस्था त्यस्तै देखिएको छ । राजनीतिक नियुक्ति, मन्त्री पद जाने र पार्टीमा स्थान नपाइने डरले नेताहरु चुपचाप आचीलाई पनि अपुङ्गो मानेर खाइरहेका छन् । र, कत्ति मिठो भन्दै रमाइरहेका छन् ।