इरानले गर्यो सैन्य भूउपग्रह प्रक्षेपण, अब के गर्ला अमेरिकाले ?

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ०९


तेहरान । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ। 

संयुक्तराज्य अमेरिकाले भूउपग्रह कार्यक्रमको आवरणमा इरानले क्षेप्यास्त्रहरूको विकास गरिरहेको आरोप लगाउँदै आएको छ। इरानले आफ्ना भूउपग्रह गतिविधिहरू अन्तर्राष्ट्रिय मान्यताहरुलाई ध्यानमा राखेर गरिएको बताएको छ। 

दुई मुलुकबीचको तनाव गत साता पनि खाडी क्षेत्रमा अनुभव गरिएको थियो। अमेरिकी रक्षा मन्त्रालयले खाडी क्षेत्रमा आफ्ना जहाजहरुलाई इरानी सैनिक जहाजले दुःख दिन खोजेको जनाएको छ। 

इस्लामिक क्रान्तिकारी गार्डले भूउपग्रह प्रक्षेपणलाई “ठूलो सफलता” को रूपमा स्वागत गरेको छ। “इरानको पहिलो उपग्रह सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको छ,” गार्डद्वारा संचालित सेपनाह न्यूज वेबसाइटले जनाएको छ। 

दुई महिनाअघि पनि इरानले यस्तै भूउपग्रह प्रक्षेपण गरेको भए पनि त्यो सफल हुन सकेको थिएन।

अमेरिकी सख्त आर्थिक नाकाबन्दीका साथै कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको इरानले विश्व समुदायसँग नाकाबन्दी खुकुलो बनाउन र आपतकालीन सहयोग गर्न आग्रह गरिरहेको छ। इरानमा कोराना संक्रमणबाट ५ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्