दाङमा भरुवा बन्दुक, बारुद र गोली बरामद, लकडाउनको अवधिमा १० जना नियन्त्रणमा

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ११ : २९


शिवु खनाल
दाङ । दाङमा वनको गस्तीमा निस्केको टोलीले शिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली बरामद गरेको छ । पश्चिम दाङको बबइ गाउँपालिका– ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । 

उक्त क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रवार पुरन्धारा सब डिभिजन वन कार्यालयबाट गएको वन गस्ति टोलीले शिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । वन गस्ती टोलीलाई देखेपछि शिकारीहरुले बन्दुर फालेर भागेको हुनसक्ने प्रमुख ज्ञवालीले बताउनुभयो । घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ती टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ती टोलीले वन क्षेत्रमा खोजी गर्दा शिकारीले वन्यजन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको गस्तीमा सहभागी सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिनुभयो । 

लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरीतस्करी तथा शिकारका घटनाहरु बढ्न सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले बिभिन्न गस्ती समूह बनाएर वनमा परिचालन गरेको जनाएको छ । अत्यधिक जोखिमका साथ आठवटै सव डिभिजन कार्यालयस्तरबाट आआफ्नो क्षेत्र र डिभिजनस्तरबाट पूरै क्षेत्रमा प्रभावकारीरुपमा गस्ती गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । सबैजसो कर्मचारीहरुलाई चरणवद्धरुपमा रात्रि तथा दिवा सिफ्ट बनाई गस्ती भइरहेको र यसबाट वन संरक्षणलाई प्रभावकारी बनाउनुको साथै विभिन्न वन अपराधमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएकोे डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिनुभयो । 

वन गस्ती टोलीले लकडाउनको अवधिमा वन पैदावार चोरीतस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई पक्राउ गरेको छ । यस अवधिमा तीनवटा सवारी साधन र सयौ क्यूफिट काठ समेत डिभिजन वन कार्यालयले बरामद गरेको छ ।

यता लकडाउनको मौका छोपेर देउखुरीका सामुदायिक वनमा चोरीका घटना बढिरहेका छन् । वन कार्यालयको नियमित गस्तीका वाबजुद पनि चोरीमा कमी आउन सकेको छैन । केही दिनअघि मात्र लमही नगरपालिका वडा नम्बर ९ अमिलियाका लालबहादुर कुमाल र भरत बिकले घर नजिकै रहेका दुईवटा सुकेको सालका रुख आफुखुसी कटान गरेको देउखुरी डिभिजन वन कार्यालय लमहीले जनाएको छ । त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ४ स्थित सालझण्डी सामुदायिक वनमा पनि त्यहाँका एक स्थानीयले सामुदायिक वनको अनुमति बिना नै सालको काठ काटेका छन । गढवा गाउँपालिका वडा नम्बर ४ का अमित यादवले अबैध तरिकाले काँचो साल जातको (बल्लाबल्ली ) कोराभाटा अनुमानित एक टेक्टर काटेको अवस्थामा फेला परेको छ । काठ चोरेर काट्दै गरेका यादव फरार भएका छन् भने काठ वनको नियन्त्रणमा रहेको छ । 

सालझण्डी सामुदायिक वनमा  काटिएका ती काठको बारेमा सब डिभिजन वन कार्यालय गोबरडिहाका सहायक वन अधिकृत ओमबहादुर ओली र लमही नगरपालिका वडा नम्बर ९ को अमिलियामा काटिएका सुकेका रुखको अनुसन्धान गर्न सब डिभिजन वन कार्यालय सतबरियाका सहायक वन अधिकृत ईश्वरी दाहाललाई अनुसन्धान अधिकृत तोकिएको छ ।

सालझण्डी सामुदायिक वनबाट बरामद गरिएको (बल्लाबल्ली) कोराभाटा सामुदायिक वनका अध्यक्ष राम लक्ष्मण साहलाई जिम्मा लगाइएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलियाका लालबहादुर कुमाल र भारत बिकले घरनजिकै रहेका ती सालका रुख काटेर अतिक्रमण गर्ने र जग्गा बनाउने उद्देश्यले ती रुख काटिएको अनुगमनमा खटिएका सहायक वन अधिकृत लालबाबु यादवले बताउनुभयो । 

सामुदायिक वनभित्र जथाभावी साल जातको कलिला बिरुवा काटेको सूचना पाए लगत्तै देउखुरी डिभिजन वन कार्यालय लमहीबाट स्थलगत अनुगमन गरिएको सहायक वन अधिकृत लालबाबु यादवले जानकारी दिनुभयो । ‘सालझण्डी सामुदायिक वनमा बल्लाबल्ली बनाउन प्रयोग गरिने काठ हामीले नियन्त्रणमा लिएर सब डिभिजनमा ल्याएका छौ तर अमिलियामा काटेका रुखहरु भने ठूलो भएको कारण घटनास्थलमै छ’, सहायक वन अधिकृत यादबले भन्नुभयो । अबैध तरिकाले जंगलका रुख काट्ने व्यक्तिहरुलाई लकडाउनका बेला म्याद थप गर्न गाह्रो हुने भएकोले पक्राउ नगरिएको र लकडाउन सकिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने देउखुरी डिभिजन वन कार्यालय लमहीका वन डिभिजनल प्रमुख प्रवीण बिडारीले बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्