काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट १ लाख ५४ हजार बढीको मृत्यु भएको छ भने २२ लाख ५२ हजार बढी संक्रमित भएका छन्।
विश्वभर कोरोनाको महामारी फैलिरहेको बेला उत्तर कोरियाले भने आफ्नो देशमा संक्रमण नभएको दाबी गरिरहेको छ। उत्तर कोरियाको यो दावीलाई बाँकी विश्वले भने विश्वास गरिरहेको छैन्। रहस्यमय मानिएको देश उत्तर कोरियाको अविश्वसनीय दावीलाई लिएर विश्व सशंकित भएका बेला देशको एक महत्वपूर्ण कार्यक्रममा किम जोङ उन अनुपस्थित भएपछि अर्को तरंग पैदा भएको छ।
अन्तर्राष्ट्रिय मिडियाले स्रोतलाई उदृत गर्दै किम जोङ उन बिरामी भएको र उनी घरबाट बाहिर निस्किने अवस्थामा नरहेको आशंका गरेका छन्। उत्तर कोरियाले बुधबार आफ्ना संस्थापक नेता र किम जोङका हजुरबुवा किम इल सुंगको जयन्ती मनाएको थियो। यो दिनलाई उत्तर कोरियामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ र देशभर सार्वजनिक विदा दिइन्छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार कमसुसन प्यालेसमा बनाइएको किम इल सुंगको समाधिमा पुष्प अर्पण गर्नका लागि बुधबार देशका सबै शीर्ष नेता र अधिकारीहरु पुगेका थिए तर किम जोङ उन भने उपस्थित थिएनन् । यसअघिका वर्षहरुमा भने यो दिन किम सधैँ त्यहाँ पुग्थे र केही समय बिताउँथे ।
यो पटक उनी उक्त समारोहमा नपुगेपछि उनको स्वास्थ्यलाई लिएर आशंका सुरु भएको हो। उनी बिरामी भएको खबरले विश्वभर तरंग पैदा भएको छ। उत्तर कोरियालाई रहस्यमय देश मानिने भएका कारण उक्त देशका सर्वोच्च नेता किम र उनका गतिविधिका बारेमा विश्वभर चर्चा भइरहन्छ। विश्व कोरोना महामारीका बेला महत्वपूर्ण सहारोहमा किम नै उपस्थित नहुँदा विश्वभर त्यसका बारेमा चासो देखिएको हो । पद्यपी उनी बिरामी भएको खबरको औपचारिक पुष्टी भने भइसकेको छैन्।