दाङ । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शंकर पोखरेलले दाङका राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासँग एकीकृत भिडियो संवाद गर्नुभएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा मुख्यमन्त्री पोख्रेलले गर्नुभएको यो सातौं भिडियो सम्वाद हो । आजको सर्वपक्षीय भिडियो सम्वादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङका इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी हुनुभएको थियो । कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खडका भने इन्टरनेट समस्याले भिडियो सम्वादमा सहभागी हुन सक्नुभएन ।
भिडियो सम्वादमा सहभागीहरुबाट दाङमा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोख्रेलले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभएको थियो । उहाँले स्वास्थ्य सामग्री उपलब्ध भएकोले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउ गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिनुभयो ।
उहाँले स्थानीय तहलाई कोरोनाविरुद्धको काम अघि बढाउन पैसा पठाएकोले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो । दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र राहत एकद्वार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्रीले आग्रह गर्नुभयो । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकोले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न, पीडितले पाउने र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहाँ आइसियुसहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उहाँले जानकारी गराउनुभयो । भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।
कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो ।