काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस संक्रमण रोक्न प्रभावकारी भ्याक्सिनले मात्रै सम्भव हुने बताएको छ।
कोरोनाभाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको उल्लेख गर्दै डब्लुएचओले त्यसलाई रोक्न प्रभावकारी भ्याक्सिन जरुरी रहेको जनाएको हो।
डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा स्वाइनफ्लुभन्दा निकै खतरनाक भएको भन्दै त्यसका विरुद्ध प्रभावकारी भ्याक्सिनले मात्रै रोक्न सक्ने बताउनुभयो।
उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ। हामीलाई थाहा छ यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ।’
भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ।
सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो। चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ। कोरोनाबाट २० लाख मानिस संक्रमित छन् भने १ लाख बढीको ज्यान गइसकेको छ। तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन।
अमेरिकाले केही साताअघि मानवमाथि कोरोना विरुद्धको खोपको परीक्षण गरेको खबर आए पनि थप जानकारी आएको छैन।
हालै चीनको सरकार मातहतका दुई कम्पनीले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन तयार गरेको खबर सार्वजनिक भएको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले उक्त भ्याक्सिन मानवमाथि परीक्षण गर्न अनुमति दिइसकेको छ।