बेलायतमा अर्का नेपालीको निधन, कोरोनाको शिकार भए हट्टाकट्टा पूर्वगोर्खा सैनिक गुरुङ

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १ : १२


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा थप एक जना नेपालीको ज्यान लिएको छ।

६५ वर्ष उमेरका ‘हट्टाकट्टा’ भूपू गोर्खा लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको बेलायतबा सञ्चालित नेपाली लिंक डटकमले समाचार लेखेको छ।

बेलायतको रेडिङमा बस्दै आएका गुरुङको स्थानीय रेडिङ बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको मृतकका आफन्तसमेत रहेका समाजसेवी एवम् व्यवसायी कमल कोने गुरुङले जानकारी दिनुभयो। 

उहाँका अनुसार पछिल्लो १०र१२ दिनअघि अस्पताल भर्ना हुनुभएका गुरुङ १ सातादेखि ‘भेन्टिलेटर’मा हुनुहुन्थ्यो। उहाँमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

मृतक गुरुङका श्रीमती र दुई छोरी बेलायतमै हुनुहुन्छ भने अर्की एक छोरी नेपालमा हुनुहुन्छ। पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उहाँको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो। घान्द्रुक समाज रेडिङमा समेत उहाँ केही वर्ष पहिला अध्यक्ष हुनुहुन्थ्यो।

‘६ जिआर डब्लुओ २’ का रिटायर्ड गोर्खा गुरुङ निकै हट्टाकट्टा र तन्दुरुस्त हुनुहुन्थ्यो। निकट स्रोतका अनुसार ध्रुमपान, मद्यपान केही नगर्ने उहाँको स्वास्थ्य राम्रो रहेको थियो।

‘निकै फूर्तिलो र स्वस्थ हुनुहुन्थ्यो । नियमित व्यायाम र साइकिलिङ पनि गर्नुहुन्थ्यो। तर कोरोनाले आक्रमण गरेपछि रिकभर हुन सक्नुभएन’, केही वर्षअघि साढे ५ दिन लगाएर एडिनबरादेखि रेडिङसम्म गुरुङसंगै ‘साइकिलिङ’ गरेका तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन कोन्मेइ तमुले बताउनुभयो। 

अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ८ पुगेका छन्। जसमध्ये ६ जना पूर्व गोर्खा सैनिक छन्।


प्रतिक्रिया दिनुहोस्