भाटभटेनीले दियो खानेपानी मन्त्रीमार्फत सुदूरपश्चिम प्रदेशलाई २५ लाख

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  २ : ३१


काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रालिले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण एवं उपचारमा सहयोग पुराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ । 

भाटभटेनीका सन्चालक मीनबहादुर गुरुङले आइतबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा गई खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहनु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ । 

कोरोना राहत कोषका लागि भाटभटेनीले उक्त सहयोग गरेको हो । मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्नु हुनेछ । 

चेक ग्रहण गर्दै मन्त्री मगरले भाटभटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोगप्रति धन्यवाद र आभार प्रकट गर्नुभयो । विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उहाँले सबैलाई आव्हान समेत गर्नुभयो । 

मन्त्री मगरले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्