आक्रमण हुनेछ अदृष्य
अदृष्य हुनेछन् हतियार
भूमिगत हुनेछन् षडयन्त्रहरु
सुक्ष्म किटाणुझैं आक्रमण गर्नेछन्
दुश्मनहरुले अदृष्य मोर्चाबाटै
देखिने छैन
निशाना लगाएको
हुने छैन कुनै भिडन्त
सुनिने छैन कुनै पीडाको आहत चित्कार
मिल्ने छैन अवसर माग्न कसैसँग गुहार
असम्भव हुनेछ देख्न
रगत बगिरहेको घाऊ
भेटिने छैन मेरो लाश
सुनिने छैन कोही आफन्तको शोकमग्न क्रन्दन ।
सबैभन्दा भयानक कुरा
त्यो हत्यापछि
सोच्न छोडिदिनेछ मेरो दिमाग
गर्न छोडिदिनेछ प्रश्नहरु
बाँकी रहने छैन कुनै उत्तेजना
जुन हत्यापछि
मलाई आफूखुसी खरिद्नेछ बजारले
र बेच्नेछ आफूखुसी
यसरी हुनेछ मेरो हत्या
मौन
निःशब्द
र सुनसान !