धेरैपछि
आमासँग छु
ममताको शितल छायाँ मुन्तिर
लहलहाएका छन् उधुमले
जिन्दगीका सप्तरङ्गी खुशीहरु
सिंचेर मलाई बार बार
आशीर्वादको नदी बगिरहन्छ
सलल सलल
धपेडीको उष्णताले डढेको म
हराभरा हुन्छु उसैघरि
ठिङ्ग उभिन्छ शिरानतिर
विश्वासको अटल हिमाल
भरोसाको भव्य भुवाँदार फाँट
मेरा पाउ ढाकेर फैलिन्छ !
र, कुत्कुत्याएर मलाई
एक बैंशालु पवन बयली खेल्छ
वरिपरि परिवेशभरि
धेरैपछि बुझें मैले
आमा त एक स्वर्ग रहेछिन् !
–––––––––––––––
धेरैपछि पियारीसँग छु
परिस्थितिका क्रूर पाइलाहरुले कुल्चेको
मृतप्रायः यो देह
कोतरेका अभावका पञ्जाहरुले
अनगिन्ती जहरिला घाउहरु
हिर्काएका निष्ठुर समयले
हजार हजार सुम्ला र नीलडामहरु
सब ठीक भएका छन् एकाएक
प्रेमको संजीवनी बुटीले
फेरि एकपटक
बौंरिएको छु म सम्पूर्ण उर्जासहित
र, मसँगै बौरिएका छन्
मेरा हजार सपनाहरु
धेरैपछि बुझें आज
उनी त
एक भव्य उर्जा र सपना रहेछिन्
–––––––––––
धेरैपछि प्रकृतिसँग छु
छोएर सुस्तरी सुस्तरी
हरपल मुस्कुराइरहने
सुकोमल र सुवासिला फूलहरु
म पनि मगमगाएको छु उस्तैगरी
हेरेर पुलकित भावले
गगनमा मस्त मस्त
उडिरहेका प्रेमील पन्छीहरु
म पनि एक भव्य उडानमा छु
सुसेल्दै पिरतीका सुरिला धुनहरु
सलल सलल बगिरहेका
निर्मल र कञ्चन खोलाहरुमा
बगाइरहेछु म निरन्तर निरन्तर
जिन्दगीका रोग र दुर्गन्धहरु
धेरैपछि बुझे मैले
प्रकृति एक मोक्ष रहेछिन् !!
२०७६ चैत्र २९