काठमाडौं । नेपाल प्रहरीका १० जना एसएसपी वरिष्ठ प्रहरी उपरीक्षकलाई डीआइजी अर्थात् प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआइजीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव शैलेश थापा क्षेत्रीले बताउनुभयो।
डीआईजी बढुवाका लागि सिफारिस हुनेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका हुनुहुन्छ।
प्रहरी सेवामा प्रवेश गरेको हिसाबले भने बढुवा गरिएकामध्ये चार जना २०४९ वैशाखमा भर्ना भएका टोलीका हुनुहुन्छ भने ६ जना २०४९ चैतमा भर्ना भएका अधिकृत हुनुहुन्छ।
वरीयता क्रमअनुसार घनश्याम अर्याल पहिलो नम्बरमा सिफारिस हुँदा प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा क्रमशः सिफारिसमा पर्नुभएको छ।
त्यस्तै धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ।
२०७४ जेठमा पहिलो नम्बरमा एसएसपी बढुवा हुनुभएका सहकुलबहादुर थापा पाँचौँ नम्बरमा र दोस्रो नम्बरमा एसएसपी हुनुभएका अरुणकुमार बिसी दशौं नम्बरमा डीआईजी सिफारिस हुनुभएको छ।
प्राविधिकतर्फबाहेक १४ जना डीआईजी कायम गरेर बिहीबार गृहमा पत्र पुगेको भोलिपल्टै डीआइजी सिफारिस गरिएको हो। नेपाल प्रहरीमा गत माघदेखि नै डीआइजीहरु खाली थिए।
अब १४ डीआइजीमध्ये ७ प्रदेशमा र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, विशेष ब्युरो नक्साल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा एक÷एक जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) रहनेछन्।
नेपाल प्रहरीमा पहिलेको दरबन्दीअनुसार २२ जना डीआइजीको पद रिक्त भए पनि १२ जनाको दरबन्दी कटौती भएपछि १० जना सिफारिस गरिएको हो।
अहिले चार जना डीआईजी कार्यरत हुनुहुन्छ। डीआइजीहरु निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल कार्यरत हुनुहुन्छ। कार्की प्रदेश २ मा, शाही सीआईबीमा, उपाध्याय प्रधान कार्यालयमा र पोख्रेल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन्।
हेर्नुहोस् गृह मन्त्रालय बढुवा समितिको सिफारिस-