लण्डन । बेलायतमा फेरि एक नेपालीको मृत्यु भएको छ।
नातिको विवाहका लागि लण्डन पुगेका बाग्लुङका कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको हो।
केसी मार्च २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमतीसहित नेपालबाट बेलायत गएका थिए।
बेलायत बस्दाबस्दै बिरामी भएपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो।
१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य अवस्थामा कुनै सुधार भएन।
उनको गत बुधबार कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए।
केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट अत्यधिक मतबाट निर्वाचित भएका थिए।
उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए।
उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन्।
उनका श्रीमती, चार छोरा र एक छोरी छन्।
अहिले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको छ।