कोरोना महामारी : न्युयोर्कमा सामुहिक रुपमा शवहरु गाडिँदै

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ३८


न्युयोर्क । कोरोना भाइरसको केन्द्र बनेको अमेरिकाको न्यूयोर्क शहर स्थित चिहानमा सामुहिक रुपमा शवहरु गाडिदै गरेका तस्विरहरु सार्वजनिक भएका छन्।

कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै प्रभावित बनेको न्यूयोर्क शहरमा मृत्यु हुनेको संख्यामा वृद्धि आएसँगै एउटा पुरानो चिहानमा सामुहिक रुपमा शवहरु गाडिन थालिएको हो।

भ्यानबाट शवहरु निकाल्दै एउटा ठुलो खाल्डोमा राखेर पुर्दै गरेको सार्वजनिक भएका फुटेजमा देखिन्छ।

शवहरु गाडिँदै गरेको देखिने यो चिहान न्यूयोर्कको हार्ट आइल्याण्डमा छ।

१ सय ५० बर्षको इतिहाँस बोकेको यो चिहानमा नातेदार नभएका (बेसहारा शव) तथा अन्तेष्टि गर्न पैसा तिर्न नसक्नेहरुका लागि प्रयोग गरिन्छ।

कोरोनाबाट मृत्यु भई बेसहारा अवस्थामा रहेका तथा आफन्तहरुले दाबी नगरेका शवहरु हार्ट आइल्याण्डमा पछिल्ले समय गाडिने गरेको बताइएको छ।

अमेरिकामा कोरोनाको केन्द्र बनेको न्यूयोर्कमा बिहिबार मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन्।

यो शहरमा संक्रमित हुनेको संख्या १ लाख ६० हजार नाघेको छ। ७ हजार मानिसको मृत्यु भइसकेको छ।

स्पेनमा १ लाख ५३ हजार, इटलीमा १ लाख ४३ हजार र चीनमा ८२ हजार कोरोनाका संक्रमित छन् ।

यी सबै देशको तुलनामा अमेरिकाको एउटै शहर न्यूयोर्कमा बढि संक्रमित रहेका छन्।

अमेरिकाभर साढे ४ लाख संक्रमित छन् भने १६ हजार भन्दा बढिको मृत्यु भइसकेको छ।

विश्वभर कोरोनाबाट १६ लाख बिरामी परेका छन् भने झण्डै १ लाख मानिसको ज्यान गएको छ।


प्रतिक्रिया दिनुहोस्