सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको आव्हानमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक सम्पन्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय वैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आमजनता एकतावद्ध भएर लाग्नुपर्ने वताउनुभयो।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमा नाकाहरुमा हेल्थ डेस्क स्थापना, स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गर्ने जस्ता कार्यहरु प्रदेश सरकारले शुरु गरेको बताउनुभयो।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिपरेको बताउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टाइन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद व्यवस्थापन कोष र स्थानीय तहलाई वजेटको व्यवस्थापन, आइशोलेसन अस्पतालको व्यवस्थापन लगायतका काम सरकारले गरेको जानकारी दिनुभयो।
त्यसैगरी स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्याला मजदुरीमा जीविका चलाउने विपन्न नागरिकहरुका लागि खाद्यसामग्रीको व्यवस्था जस्ता काम पनि सरकारको तर्फबाट गरिएको उहाँले जानकारी दिनुभयो।
लकडाउनको अवस्थामा अत्यावश्यक खाद्यसामाग्रीको अभाव हुन नदिन आपूर्तिको व्यवस्थापन गरिएको र स्थानीय उत्पादनको प्रयोगको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरिएको मुख्यमन्त्री शाहीले वताउनुभयो।
वैठकमा मुख्यमन्त्री शाहीले लकडाउनको कार्यान्वयन, राहत वितरण तथा बिरामीहरुको उपचार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा समन्वयका लागि राजनीतिक दलका सम्बन्धित तहका इकाईहरुको परिचालनका लागि दलहरुलाई आग्रह गर्नुभयो।
सर्वदलीय वैठकमा राजनैतिक दलका नेताहरुले कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमहरुको प्रशंसा गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
वैठकमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको बताउदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न आग्रह गर्नुभयो।
अहिलेको महामारी नियन्त्रणको लागि सवैभन्दा प्रभावकारी र वलियो हतियार लकडाउन नै भएको वताउदै शर्माले लकडाउनलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरु समेत कोरोना संकटवाट पार पाउन नसकेको वताउदै साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकतावद्ध भएर जानुको विकल्प नभएको वताउनुभयो ।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफनो पार्टीले पूर्णरुपमा तयार रहेको वताउदै थानीले कोरोना परिक्षण कार्यलाई तिव्रता दिन सुझाव दिनुभयो।
विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कोरोना परिक्षणको गति सन्तोषजनक नरहेको वताएको भन्दै थानीले अहिलेको सन्दर्भमा विकास निर्माणको काम गौण भएको र विकास वजेट रकमान्तर गरेर भएपनि नागरिकको जिउज्यानको सुरक्षा दिनुपर्ने वताउनुभयो ।