लकडाउनले फसेका छोरालाई घर लिन आमाले स्कुटीमै गरिन् १४ सय किलोमिटर यात्रा

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ११ : ५९


हैदराबाद । कोरोना भाइरसको रोकथामका लागि भन्दै भारतले २१ दिने लकडाउन आदेश जारी गरेको छ।

यसको असर हरेक क्षेत्रमा परेको छ। हरेक राज्यका प्रहरीले लकडाउनलाई कडाइका साथ लागू गरेका छन्।

देशमा केवल अत्यावश्यक सवारी साधनलाई मात्र चलाउन अनुमति दिइएको छ।

तेलंगानामा एउटी आमाले लकडाउनमा अडिएका आफ्नो छोरालाई घर फिर्ता गर्न लामो यात्रा गरेको घटना बाहिरिएको छ।

उनले १४ सय किलोमिटर स्कूटी यात्रा गरेर आफ्नो छोरालाई घर पुर्याएकी हुन।

४८ बर्षीया महिला रजिया बेगमले स्थानीय प्रहरीको अनुमति लिएर निजामाबादबाट आन्ध्र प्रदेशको नेल्लोर सम्मको यात्रा गरेकी हुन।

निजामाबादबाट सोमबार आन्ध्र प्रदेशको नेल्लोर हिँडेकी उनले बुधबार साँझ छोरा लिएर घर फर्किएकी थिइन् ।

निजामाबादबाट नेल्लोरको दूरी करीब ७ सय किलोमिटर रहेको छ ।

घरबाटै खाना बोकेर हिँडेकी उनी रातभर स्कुटी चलाउँदै गन्तव्यमा पुगिन्।

लकडाउनले गर्दा सडक निकै सुनसान थियो भने ट्राफिक प्रहरी पनि ड्युटीमा थिएनन्।

४८ वर्षीया बेगमको सानो परिवार छ । परिवारमा उनको दुई जना छोराहरु छन् । उनको पतिको १५ वर्षअघि निधन भएको थियो ।

ठूलो छोरा इन्जिनियरिङमा ग्राजुएट छन् भने कान्छा छोरा निजामुद्दिन अहिले पढिरहेका छन् । डाक्टर बन्ने लक्ष्य लिएका उनी नेल्लोरमा थिए ।

एमबिबिएस प्रवेश परीक्षाका जाँचका लागि तयारी गरिरहेका छोरा लकडाउनले गर्दा रोकिएपछि उनले लामो यात्रा तय गरेकी हुन्।

भारतमा मानिसहरु कसरी लकडाउनका कारण दुःख पाइरहेका छन् एउटा दृष्टान्त रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्