बोक्सी भन्दै बुहारीमाथि बञ्चरो प्रहार, ससुरा प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ११ : ५४


वुटवल । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन्। कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन्।  

घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासी हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो। लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।

लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए।  

पौडेलले बुहारीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएको छिमेकी बताउँछन्। “लीलाका श्रीमान् (छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन्। हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन्। हतार हतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भन्नुभयो।

घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गर्नुभएको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो। “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ”, उहाँले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस्