दाङमा लकडाउन डायरी– २ : के गर्दैछन् विभिन्न क्षेत्रका अगुवाहरु ?

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : १०


यतिबेला मानवजातिको अस्तित्वलाई नै संकट पार्नेगरी विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वका करिब दुई सयभन्दा बढी राष्ट्रलाई आक्रान्त बनाएको छ । शुरुमा रुघाखोकीको जस्तो लक्षण देखिने यो रोगले बिस्तारै मानिसको फोक्सोमै आक्रमण गरेर श्वासप्रश्वासमै गम्भीर असर गरेर मानिसको प्राण लिने गर्दछ । हालसम्म यसको कुनै औषधि नभेटिएको डरलाग्दो प्राणघातक कोरोना भाइरसको संक्रमणको साङ्लो तोडेर सुरक्षित हुन नेपालले यतिबेला लकडाउन गरेको छ । यही लकडाउनको समयमा कसैको दैनिकी अरुका लागि अनुकरणीय तथा प्रेरणा बनोस् भनेर विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग पत्रकार केशरमान बुढाथोकीले गर्नुभएको संक्षिप्त संवादमा आधारित ।


म यो लकडाउनको समयमा मेरो आफ्नै जन्मभूमि दाङको हापुरमा मेरो परिवारसँगै छु । यतिबेला विश्वमा कोरोना भाइरसको महामारी आइरहेका बेला नेपाल सरकारले पूर्व सचेतता अपनाएर लकडाउन घोषणा गरेको पूर्वसन्ध्यामा म गृहजिल्ला आएको हुँ । कोरोना भाइरसको नेपालमा संक्रमण देखापर्ने भन्दा अगावै सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गरेका केही सचेतनामूलक कार्यक्रम र संस्थाभित्रका सदस्यहरुलाई सहयोगका क्रियाकलापमा सहभागी भई आफू पनि गृह जिल्ला दाङ आइपुगेको छु । घर आएपश्चात गाउँमा लकडाउनको प्रभाव नरहेको, भेटघाट गर्ने, खसी काटेर खाने, विभिन्न खेलकुद तथा चैते दशैंको पनि कार्यक्रम राखेको पाइयो । यस्ता क्रियाकलाप गर्न नहुने र सरकारले हाम्रै सुरक्षाको लागि लकडाउन गरेकाले यसको पूर्णरुपमा पालना गरी सरकार र स्वयं आफूलाई सहयोग गर्नुपर्ने बेला भएकाले म आफू घोराही उपमहानगरपालिका १२ को बासिन्दा भएको नाताले १२ नं. वडा कार्यालयसँगको छलफल तथा समन्वयमा यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेको थिएँ । अहिले विभिन्न जिल्ला तथा नेपाली गीतसंगीतलाई मन पराउनुहुने देश तथा विदेशमा रहनु भएका साथीहरुसँग छलफल गरी त्यहाँको अवस्था बुझ्ने काम गर्दै आएको छु । बाँकी समय आफूलाई रुचि भएका केही पुस्तकहरु पढिसकें र केही पढ्दैछु । मेरो कर्म भनेकै गीत संगीतको सिर्जना तथा साधना भएकाले गीत तथा संगीतको सिर्जना गर्दै दिन बिताउँदै आएको छु ।

चन्द्र शर्मा 
पूर्व केन्द्रीय अध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान


आजभोलि लकडाउनका कारण मैले पनि आफ्नो नियमित दैनिक क्रियाकलापमा परिवर्तन गर्नुपरेको छ । बिहान सबेरै ५ बजे नै उठ्ने बानी छ । उठेपछि नित्यकर्म गर्छु अनि घरमै शारीरिक व्यायाम गर्दछु । यो मेरो नियमित क्रियाकलाप नै हो । अनि लकडाउनको समय भएकाले घरभन्दा बाहिर निस्किएको छैन । घरमै परिवारका सदस्यहरुसँग घरायसी कामकाज गर्ने गरेको छु । म लकडाउन घोषणा हुनुभन्दा अघिल्लो दिनमात्र काठमाडौबाट दाङ आएको हुँ । घरमा आइपुग्दा घर वरपरको बारीको अस्तव्यस्त थियो । लकडाउनको समयमा करिब १४÷१५ दिन बिहानमा बारि खन्नेदेखि लिएर विभिन्न तरकारीहरु लगाउने काममा बिताएँ । यसका अतिरिक्त गमलामा माटो भर्ने र फूलहरु लगाउने काम पनि भयो । लकडाउनकै कारण घरबाहिर निस्कन नपाए पनि फोन र सामाजिक सन्जालको माध्यमबाट आफन्त र शुभचिन्तकहरुलाइ सम्पर्क गर्ने र कोरोनाको वर्तमान अवस्थाबारे जानकारी लिने काम पनि भइरहेको छ । यसका अतिरिक्त मैले पहिले पहिले थुप्रै पुस्तकहरू पढें । र केही अनुभूति समेटिएका पुस्तकहरु पनि लेखेको छु तर पछिल्लो समय लेख्नेपढ्नेतिर अलि चासो कम हुन थालेछ । तर पनि यो बीचमा प्रयोगशाला र विकास प्रशासन नामक दुई पुस्तक पढिसकें । र अझै पढ्नका लागि केही पुस्तकहरु छनौट गरेको छु । बाँकी समय पनि यसैगरी बिताउने छु । विश्वलाई नै कोरोना भाइरसको महामारीले आक्रान्त गराएको बेला नेपाल सरकारले गरेको लकडाउन घोषणा स्वागतयोग्य छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने एकमात्र अचुक उपाय लकडाउन भएकाले आम नागरिकहरुलाइ धैर्य गरेर बसिदिनुहुन अनुरोध गर्दछु । यसरी लकडाउनमा बस्दा ज्याला मजदुर गरेर खाने परिवारको चुल्हो बल्न नसक्ने अवस्था पनि आउन सक्छ । यसका लागि स्थानीय सरकारलाई अनुगमन गर्न अनुरोध गर्दछु । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण छिटफुट मात्र देखिएको हो । योभन्दा भयावह स्थिति नआउला भन्न सकिन्न । त्यसैले त्यसतर्फ पूर्वतयारी गर्न सम्पूर्ण सरोकारवाला निकायलाई हार्दिक अनुरोध गर्दछु ।

निर्मल महरा एटम 
युवा नेता, नेपाल कम्युनिष्ट पार्टी, नेकपा 


कोरोना भाइरसका कारण २०७६ चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा छ । लगभग सब कुरा ठप्प छ यतिबेला । सबै मान्छेहरु जस्तै म पनि घरमै छु । डुलिहिँड्ने मान्छे म घरमा कुँजिएर बस्दा औधी सकस भएको छ । पीडामा परेको पन्छी जस्तै भएको छु । एक स्वच्छन्द उडान सपना भएको छ । उकुसमुकुस, छट्पटी र औडाहाले मन थाम्न मुश्किल भएको छ भने अर्कोतिर कोरना–त्रासले पनि बरोबर झस्काइरहन्छ ।

हो, परिस्थिति निकै विषम औ त्रासदीपूर्ण छ । तर म रत्तिभर विचलित छैन ।  लकडाउनको जीवनलाई अधिकतम सिर्जनशील औ कलात्मक बनाउने प्रयाससँगै मेरा दिनहरु गजबका भएका छन् । औधी रुचिपूर्वक घरायसी काममा समर्पित छु । साना–साना कामहरुमा पनि उत्तिकै उत्साहका साथ डटेको छु । घरआँगनको सरसफाइदेखि भान्सा र खेतबारीसम्म आनन्द मनले श्रम गरेको छु । गुनगुनाउँदै तरकारी र फूलहरु गोड्छु र मनको औडाहा विसेक बनाउँछु । त्यसबाहेक समाजिक सञ्जालमा आफ्ना भावना, अनुभूति र सूचनाहरु शेयर गर्छु ।

जीवनमा कुनै पनि बेला जे पनि हुन सक्छ र हर कुरा भोग्न र सामना गर्न हामी हरदम तयार हुनुपर्छ भन्ने जीवन÷दर्शनबाट अभिप्रेरित छु म । अतः संकटमा पनि सम्हालिएर रमाउँदै बाँच्नु मेरो जीवनशैली हो । अहिले यसैगरी लकडाउन कष्टलाई सहजताका साथ सहन गरेको छु । कोरोना–त्रासको यो घोर अँध्यारो भोलि जरुर ढल्नेछ र क्षितिजबाट उघ्रिने नयाँ बिहानीसँगै जीवनले लय पकड्ने छ । यही विश्वासले मलाई डगमगाउन दिएको छैन ।

केएल पीडित 
चलचित्र, निर्देशक र पत्रकार 


सबैजसो चिकित्सकहरुजस्तै मेरो दीनचर्या पनि व्यस्ततामै बितेको छ । चिकित्सकहरु प्रायः सबैजसो ब्यस्त नै हुन्छन् । म सधैंजसो बिहान ६ बजेकै वरपर उठ्ने गरेको छु । घरको बगैंचामा नियमित ३०÷४० मिनेट जति हिड्डुल गर्ने मेरो पुरानो दैनिकी नै हो । यसका लागि नियमित समय व्यवस्थापन गरेको छु । अस्पतालमा बिरामीको चाप धेरै हुने गर्दछ । त्यस्तै कतिपय बिरामीहरुले फोनमार्फत पनि विभिन्न कुराहरु सोध्ने गर्दछन् । सकेजति फोन उठाएर त्यसको बारेमा जानकारी गराउँदछु । अनि पछिल्लो समय विश्वलाई नै थिलोथिलो पारेको कोरोना भाइरसको बारेमा आएका विभिन्न अंग्रेजी, हिन्दी लेखहरु अध्ययन गर्दछु । त्यस सम्बन्धी समाचारहरु पनि पढ्ने, सुन्ने र हेर्ने गरेको छु । र नियमितजसो आफ्नो बिषयसँग सम्बन्धित कुराहरुको अध्ययन गर्दछु । त्यसपछि बिहान ९.१५ मा आफ्नो नियमित कार्यका लागि राप्ती प्रादेशिक अस्पताल जान्छु । त्यहाँ इमर्जेन्सी बिरामी चेकजाँच गर्दछु । फुर्सदको समय साथीभाइहरुसङ्ग कोरोना रोगबारे छलफल हुने गर्दछ । अफिसबाट फर्केपछि साँझको समय आजभोलि आध्यात्मिक र भौतिक जीवनबारे सामान्य अध्ययन गर्छु । अध्यात्म विज्ञानमा ज्ञान विज्ञान र विवेक  पाइन्छ । जीवन सरल र सुखमय देखिन्छ । निस्काम कर्म गर्न सिकाउँछ । जो वर्तमान विज्ञानमा छैन । यसको अध्ययनपछि केहीबेर उहीँ सामाजिक सन्जाल हेर्छु । अनि समाचार सुन्दै÷हेर्दै नियमित ११ बजेतिर सुत्ने गर्दछु ।

डा. जनार्दन पन्थी 
चिकित्सक 


कोरोना भाइरसको संक्रमण विश्वभर दिनानुदिन फैलिन थालेपछि नेपालमा पनि यसको पूर्व सावधानी अपनाउन नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर हामीले कोरोनालाई परास्त गर्ने हो । त्यसैले मैले लकडाउनलाई पूर्णरुपमा पालना गर्दै आफ्नै घरभित्र गर्न सकिने विभिन्न काममा व्यस्त छु । विशेष गरेर मेरो विधावारिधिसँग सम्बन्धित केही सामग्रीको अध्ययन गर्दैछु । त्यसैगरी पुनर्ताजगीको लागि स्नातक तहमा पढाउनु पर्ने ३ वटा उपन्यास पनि पढें र अन्य २ वटा उपन्यास पनि पढें । मेरी श्रीमती पेशाले नर्स भएकाले विदाको समयमा बालबालिकालाई समय दिइरहेको छु । यस क्रममा बालबालिकालाई कपडा धुने, खाना पकाउने, भाँडा माझ्ने, नुहाउने अभ्यास गराइरहेको छु । बालबालिकासँग आफ्ना विगतका कुराहरु बताउने, नातागोताका बारेमा बताउने र उनीहरुलाई नजिकैबाट नियाल्ने प्रयास गरिरहेको छु । यसका साथै साँझबिहान स्किपिङ खेल्ने, व्याडमिन्टन खेल्ने गरिरहेको छु । त्यसैगरी रेडियो सुन्ने, टेलिभिजन हेर्ने गरेर समय बिताइरहेको छु । यसका साथै  फेसबुक लगायतका विभिन्न सञ्चारमाध्यमबाट विश्वका विभिन्न गतिविधि नियाल्नुका साथै केही मनोरञ्जन र आराम लिने गरेको छु ।

अम्बिकाप्रसाद डाँगी 
उपप्राध्यापक 


कोरोना भाइरसका कारण यतिबेला विश्वजगतको नियमित कार्यतालिका नै परिवर्तन भएको बेला मेरो पनि कार्यतालिकामा परिवर्तन आएको छ । विश्वको  स्वास्थ क्षेत्रलाई चुनौती दिँदै २१औं शताब्दीमा मानवजातिको अस्तित्वलाई नै संकटमा पार्नेगरी फैलिएको कोरोना भाइरसले मेरो पनि दैनिकीलाई प्रभाब पारेको छ । लकडाउनले गर्दा सुरुका दिनमा केही आलश्यता, केही निराशपन र केही अल्छीपनाले च्यापे तापनि आजका दिनसम्म आइपुग्दा समस्यालाई सदुपयोग गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढिरहेको छु । प्रायः मेरो दिनचर्या नियमित शारीरिक व्यायामसँगै स्वअध्ययन, परिवारका सदस्यहरुसँग रमाइलो तथा सामाजिक धरातललाई नजिकबाट नियाल्ने अबसरको रुपमा सदुपयोग गरेको छु । विश्व संकटमा पर्दै गर्दा हामी संकटमोचन र शक्तिशाली भन्नेहरुको अवस्था विश्वमा पार्ने प्राकृतिक  बिपत्तिले  कुन कालखण्डमा कसको अवस्था के भयो भन्ने नजिकबाट नियाल्ने अबसर पनि मिलेको छ । र, यतिबेला कोरोना भाइरसले विश्व आक्रान्त बनाउदै गर्दा हाम्रो समाज पनि त्यसबाट अछुतो रहन सकेको छैन । यतिबेला म लगायत हाम्रा प्याब्सनसँग आवद्ध साथीहरू, घोराही उप(महानगरपालिकास्थित विभिन्न वडाहरुका बिपन्न मजदुर तथा ज्यालादारी गर्ने परिवारलाई  राहत वितरण गर्ने काममा ब्यस्त छौं । यसका साथै विभिन्न विद्यार्थी संगठनको सिफारिसमा घोराही उपमहानगरपालिकाभित्र भाडामा बस्ने विभिन्न जिल्लाका विद्यार्थीहरुलाई पनि सहयोग गरिरहेका छौं । र, बाँकी समय छोरीको एसईई तयारीमा सहयोग, छोरासँग चेस र भान्सामा पकाउने काममा समय ब्यतीत गरिरहेको छु । अन्त्यमा हजुरको अनलाइनमार्फत सम्मुखमै आएको नयाँ वर्ष २०७७ सालको पावन अवसरमा समग्र नेपाली नागरिकहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

वीरेन्द्र चन्द 
अध्यक्ष, प्याब्सन घोराही 
 


प्रतिक्रिया दिनुहोस्