उपकुलपतिसँग शिक्षामन्त्रीको भिडियो कन्फरेन्स, अनलाइन कक्षा सञ्चालनको तयारी

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ३ : ५७


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सबै विश्वविद्यालयका उपकुलपतिसँग भिडियो कन्फरेन्स गर्नुभएको छ। 

बिहीबार साँझ रहेको उक्त कन्फरेन्समा वर्तमानमा विश्वविद्यालयले खेलेको भूमिका र दूरशिक्षा सञ्चालनका विषयमा छलफल भएको हो। कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका गरिएको नेपाल लकडाउन लम्बिने संकेत देखिएसँगै सरकारले दूरशिक्षा सञ्चालनको तयारी गर्न लागेको हो। 

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गर्नुभएको हो ।

छलफलमा उपकुलपतिले सबै ल्याबहरुलाई प्रयोगमा ल्याउने, अनलाइन प्रणालीमा जाने, शिक्षकको क्षमता विकास, कोरोनाको महामारी फैलिन नदिनका लागि स्वयम् सेवकका लागि वायोमेट्रिक, बायोलोजी, शिक्षण अस्पतालका विज्ञको टीम परिचालन लगायतका बारेमा जानकारी गराउनुभएको मन्त्री पोखरेलको स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो। 

छलफलमा काठमाडौँ विश्वविद्यालयका उपकुलपतिले मेडिकल र नन् मेडिकल विद्यार्थी र शिक्षकलाई सेवक परिचालन गरिएको,  अनलाइन एजुकेसन अगाडि बढाएकोलगायतका बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो। 

त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्टले एमबीए र एमफिल तह र काठमाडौँ मोडल कलेजले एमबीएसको अनलाइन कक्षा सुरु गरेको छ।

त्यस्तै कर्णाली प्रदेशका उपकुलपतिले एक हजारको क्वारेन्टाइन बनाउन विश्वविद्यालयले ६०० जनाका लागि तयारी गरेको, जनचेतना अभिवृद्धि गर्ने काम गरेको,  प्रदेश सरकार र जनप्रतिनिधिसँग मिलेर जनचेतनाका कामहरु गरिरहेको जानकारी गराउनुभयो। 


प्रतिक्रिया दिनुहोस्