मन्त्री मगरलाई सूदुरपश्चिम सरकारका लागि पिपिईलगायतका सामग्री

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  १२ : १४


काठमाडौं । नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण एवं उपचारमा खटिन सुदूरपश्चिम प्रदेशका चिकित्सकहरुका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले सुदूरपश्चिम प्रदेशमा चिकित्सकका लागि आवश्यक पिपिई लगायत स्वास्थ्य सामग्रीहरु खानेपानी मन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई केन्द्र सरकारले यसअघि नै जिम्मेवारी दिएको थियो । 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २ सय थान पिपिई लगायतका सामग्रीहरु खानेपानी मन्त्री मगरलाई सिंहदरबारमा बिहीबार हस्तान्तरण गर्नुभएको हो । कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि सहयोग प्राप्त भएको आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नु हुनेछ । 

पिपिई लगायतका स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान समेत गर्नुभयो । मन्त्री मगरले यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन मद्दत पुग्ने बताउनुभयो । 
‘यस्तो महामारीका विरुद्ध सबैजना हातेमालो गरेर एकसाथ लड्नको निम्ति म हार्दिक आव्हान गर्न चाहन्छु । उहाँले भन्नु भयो, ‘यसबेला सामाजिक संस्था र व्यक्तिहरुको सहयोग अपरिहार्य छ । सबैले आआफ्नो ठाउँबाट सहयोग गरौं । 

संघले सहयोग गरेका सामग्रीहरुमा पिपिई सेट लगायत पञ्जा, एप्रोन, मास्क, चश्मा, टोपी र सेनिटाइजर लगायत छन् ।
 


प्रतिक्रिया दिनुहोस्